झापा , भदौ २६ । नेकपा एमालेका उपाध्यक्ष,संविधानसभाका अध्यक्ष तथा इलाम क्षेत्र नं २ का सांसद सुवासचन्द्र नेम्वाङको निधनले इलाम शोकमग्न बनेको छ ।

नेकपा एमाले जिल्ला कमिटी इलामले कार्यालयमा पार्टीको झण्डा झुकाउँदै शोक पुस्तिका राखेको छ ।
नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, तिनका नेता, सामाजिक अभियन्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।
इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए । उनले देश र जनताका लागि पुर्याएको योगदान अतुलनीय रहेको जनाउँदै देशले नै शोक मनाइरहेको बताए ।
गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित भएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताए । “पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाईले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ”, उनले भने, “इलामका बालबच्चादेखि बृद्धबृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो ।”
“उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो”, नेकपा (एकीकृत समाजवादी) इलामका अध्यक्ष भक्त केसीले भने, “उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ ।”
नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता रन्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उनले चालेको कदम बिर्सन नसकिने बताए । “कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुनुहुन्थ्यो”, उनले भने, “सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु ।”
माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, “उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ । उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।” नेम्बाङले इलाम क्षेत्र नं २ मा २०५६ देखि लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत रहेका थिए ।