वीरगञ्ज, भदौ २७ । पर्साको वीरगञ्जस्थित बाल सुधारगृहमा झडप भएको छ ।

गएराति बाल सुधारगृहमा रहेकाहरुबीच आपसी विवाद हुँदा दुई समूहबीच झडप भएको हो । झडपमा ११ जना बाल कैदीहरु घाइते भएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए। उनीहरु सबै जना सामान्य घाइते भएको उनले बताए।
राति प्रहरी परिचालन गरिएपछि बाल सुधारगृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेका थिए । बिहानदेखि स्थिति सामान्य भएको छ । यद्यपि सुरक्षा सतर्कता कायमै राखिएको छ ।


डिएसपी थापाले आज बिहानको अवस्था सामान्य रहेको बताए । यद्यपि अहिले पनि बाल सुधारगृह बाहिर प्रहरी खटाइएको उनले जानकारी दिए ।
बाल सुधारगृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन । स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको छ ।

यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधारगृहमा पठाइएको थियो । त्यहाँ पहिल्यैदेखि रहेकाहरु र भक्तपुरबाट पठाइएकाहरुको समूहबीच विवाद हुँदा झडप भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्