झापा,भदौ२७। किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उदघाटन गर्नेछन् ।
एचपीभी खोप हालका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत र डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाउन सकिन्छ । कोशी र मधेश प्रदेशमा भने नियमित खोप चल्ने भएकाले भदौ २८ र २९ मा सञ्चालन हुनेछ ।

विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो ।अहिले चीनबाट खरिद गरेको २० हजार भाइल एचपीभी विरुद्धको खोप हाल टेकुस्थित खोप भण्डारणमा राखिएको छ । सरकारी स्तरबाट पहिलो पटक किशोरीलाई दिन लागिएको एचपीभी विरुद्धको खोप गत असार १९ मा नेपालमा आइपुगेको थियो ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । र, ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्