झापा, भदौ २८ । नेपाल चिकित्सक संघले हेटौंडामा बिरामीको उपचार गरिरहेको अवस्थामा दुई चिकित्सकमाथि भएको आक्रमणमा संलग्न सबैलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

आफूहरूमाथि आक्रमणमा उत्रनेविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन–२०७९ बमोजिम ७२ घण्टाभित्र कारबाही नभए आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने पनि चिकित्सक संघले चेतावनी दिएको छ । चिकित्सक संघले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको हो । चिकित्सक संघका महासचिव डा.सञ्जीव तिवारीले ज्यानै मार्ने किसिमको घटना अस्पतालको सीसीटीभीमा कैद भइ सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदा पनि सुरक्षा निकायले यो विषयलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।

पछिल्ला दुई दिनमा चिकित्सकमाथि हातपात र तोडफोडसम्बन्धी तीन वटा घटना भइसकेको जनाउँदै चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले भने, ‘४ जना समातिएको भनिरहेका छन् तर हामी उनीहरूलाई कुन ऐनअन्तर्गत कारबाही गर्न खोज्दैछ भन्ने कुरा हेरिरहेका छौं ।’
डा.कार्कीले चिकित्सकमाथि आक्रमण, स्वास्थ्य संस्था तोडफोडलगायतका घटनामा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन–२०७९ बमोजिम नगरिए ७२ घण्टापछि देशव्यापी विरोध सुरु हुने बताए ।
चिकित्सक संघका अनुसार बुधबार डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौंडामा बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको थियो ।

साउन २२ गते एक जना बिरामी डेंगीको लक्षण लिई उपचारका लागि सन्चो अस्पताल हेटौंडामा आएको र ती बिरामीलाई थप उपचारका लागि साउन २३ गते नै चितवनस्थित सुविधासम्पन्न अस्पताल रेफर गरिएको थियो । ती बिरामीको साउन २५ गते उपचारका क्रममा निधन भएको जनाउँदै चिकित्सक संघका महासचिव तिवारीले भने, ‘यसै घटनालाई लिएर सन्चो अस्पताल हेटौंडामा कार्यरत डा.थापा र डा. विडारीमाथि शारीरिक हमला गरी घाइते बनाइयो । यो घटनालाई लिएर पहिला पनि क्षतिपूर्तिका लागि भन्दै धम्की दिने गरेका थिए ।’
मुलुकभर ३३ हजार चिकित्सक रहेकामा नेपाल चिकित्सक संघमा १४ हजार सदस्य छन् ।

यसैबीच हेटौंडास्थित सञ्चो हस्पिटलका चिकित्सकहरूमाथि कुटपिट गर्ने घटनामा संलग्न ४ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । चौतर्फी दबाबसँगै चिकित्सकहरूले आन्दोलनको घोषणा गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । एक महिनाअघि डेंगी संक्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै आफन्तहरू आक्रामक भएका हुन् । डेंगी संक्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्