झापा, भदौ २८ । सामान्य विवादमा विराटनगर महानगरको नगर प्रहरीले जनता सामाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको छ ।

पार्किङको विषयमा विवाद भएपछि बुधबार साँझ यादवमाथि नगर प्रहरीले लछारपछार पार्दै दुर्व्यवहार गरेको हो । यादव विराटनगरको अस्पताल चोकमा रहेको स्नेहा फार्मेसीका सञ्चालक हुन् । पसल अगाडि नो पार्किङमा रोकेको सिटी सफारीमा नगर प्रहरीले ह्वील लक लगाइदिएकोमा यादवले लक खोल्न नगर प्रहरीलाई आग्रह गरेका थिए । सफारी चालकले लक खोल्दिएन भन्दै गुनासो गरेपछि आफूले नजिकै रहेको नगर प्रहरीलाई ‘के गरेको भाई जरिवाना लिने भए लिएर छाडिदिहाल्नु नि, किन दुःख दिएको’ भन्दा विवाद भएको यादवले बताए । नगर प्रहरीले आफूलाई ठेलेपछि धकेलाधकेल भएको स्वीकार गर्दै उनले त्यसपछि नगर प्रहरीको टोली आएर लछारपछार पार्दै पसलबाट निकालेर प्रहरी कार्यालय लगेको उनले जानकारी दिए ।

यादवले सञ्चालन गरेको स्नेहा फार्मेसीमा पुगेको नगर प्रहरीले पसलभित्रबाट उनलाई समातेर वडा प्रहरी कार्यालय लगेको थियो । घटनाको सूचना पाएपछि विराटनगरका मेयर नागेश कोइराला वडा प्रहरी कार्यालय पुगेका थिए । मेयरले नगर प्रहरीले गल्ती गरेको भनेपछि यादव घर फर्किएका थिए ।
नगर प्रहरीले भने यादवले हातपात गरेपछि थप टोली गएर उनलाई ल्याएको जिकिर गरेको छ । विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलले नेता यादवसँगको विवाद मिलिसकेको बताए । मिलिसकेको विवादको भिडियो सार्वजनिक भएको उनको भनाइ छ । दुबै तर्फबाट कमजोरी स्वीकार गरेपछि विवाद मिलेको उनको भनाइ छ ।
अध्यक्ष यादवले आफूमाथि भएको दुर्व्यवहारबारे चारैतर्फबाट प्रतिक्रिया र नगर प्रहरीविरुद्ध आक्रोश पोखिएको बताए ।

यसैबीच जनता समाजवादी पार्टी(जसपा) ले मोरङ अध्यक्ष राजकुमार यादवलाई विराटनगर महानगर रक्षकले दुर्व्यवहार गरेको बताएको छ। जसपा महानगर समितले अध्यक्ष यादवलाई दुर्व्यवहार गर्ने नगर रक्षकलाई बर्खास्त गरी कारबाही नगरेकाले शुक्रबारदेखि आन्दोलनमा उत्रने घोषणासमेत गरेको छ ।

जसपा महानगर उपाध्यक्ष मोहम्मद नसरूलले बिहीबार पत्रकार सम्मेलन गरी विराटनगर महागरभित्र नगर प्रहरीको आतंक र दुर्व्यवहारविरूद्धको आन्दोलनमा अन्य राजनीतिक दलले समेत समर्थन जनाइसकेकाले शुक्रबारदेखि सशक्त आन्दोलनमा उत्रिने बताएका छन् ।

‘अध्यक्षजीलाई अमानवीय व्यवहार गर्ने नगर रक्षकलाई तत्काल बर्खास्त गरी कारबाही गरिनुपर्छ,‘उनले भने, ‘विराटनगर महानगरले सडक पार्किङ हटाउने नाममा सर्वसाधारण, व्यवसायी, सिटी रिक्सालगायत साना सवारी चालक, मोटरसाइकल चालकलाई अनावश्यक दुःख दिने काम तत्काल रोक्नु पर्छ ।’

जसपा मोरङ सचिव राछामी किरातीले बिहीबार विज्ञप्ति जारी गरी अध्यक्ष यादवलाई दुर्व्यवहार गर्ने नगर रक्षकलाई तत्काल कारबाही नगरिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्