झापा ,भदौ ३० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सशक्तीकरणका लागि कार्यकर्ता जगेडा मुक्ति अभियान जरुरी भएको बताएका छन् । उनले सबै टोलमा गाउँ सेवा दल बनाउन पार्टीपंक्तिलाई निर्देशन समेत दिए।

झापा क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने,“ पार्टी रुपान्तरणका लागि कार्यकर्ता जगेडा मुक्ति अभियान चलाउनु पर्छ,सबैलाई जिम्मेवारी दिनुपर्छ। “
कांग्रेसले गर्ने हरेक कार्यक्रमको स्वरुप परिवर्तन हुनु पर्नेमा जोड दिएका उनले कांग्रेसका हरेक हातहरु सहयोगी बन्न सक्नुपर्ने धारणा राखे। उनले भने,“ केन्द्रमा पार्टीले पोलिसी ह्याकाथुन चलायो, यसले गैरकांग्रेसलाई पनि कांग्रेससँग जोड्यो, अब गाउँ तहसम्म नै नयाँ कार्यक्रम गर्नु पर्छ, ढिलो गर्नु हुन्न ।”

दुबै महामन्त्रीको परीक्षणकाल सकिएको र अब पूर्णरूपमा काम गर्ने उनले विश्वास दिलाए। पार्टी सभापतिको आलोचना गरेर मात्रै केही नहुने भन्दै उनले विधानमा व्यवस्था भएका काम गर्न नसक्नुमा आफूहरूको पनि कमजोरी रहेको स्वीकारे।
तर, पार्टीमा भएका गल्ती, कमजोरीको सबै दोष आफूले नलिने उनले बताए। तथापि, उनले अहिले केन्द्रीय कार्यालय प्रखर भएको दाबी गरे ।देशभर जारी सम्मेलनले पार्टी सुधारको संकेत मिलेको बताए।
देश र निर्वाचन क्षेत्रको समस्याका बारेमा सिलसिलेवार बोलेका महामन्त्री शर्माले सरकारले संसदमा दर्ता गरेको शिक्षा ऐन कांग्र्रेसलाई अस्वीकार्य भएको बताए ।

“पहिलाको प्रस्तावित विधेयक त्रुटिपूर्ण रहेकाले सच्याएर ल्याउने सल्लाह भएको हो फेरि पनि असंगत विधेयक ल्याइयो” उनले भने,“ म शिक्षकको छोरा हुँ, समस्या बुझेको छु, प्रधानमन्त्रीलाई भन्छु, यो विधेयक अस्वीकार्य छ।”
भ्रष्टाचारको विषयमा सरकारले गरेको काममा कांग्रेसको समर्थन रहेको उनले बताए। शर्माले भने, “ कांग्रेसले कसैलाई निलम्बन ग¥यो, गरेन त्यो ठूलो कुरो होइन, यस्तो हल्ला गर्नुको अर्थ पनि छैन, संसदमा उभिएर मैले नै भनेको हुँ,भ्रष्टाचारको फायल होइन फायर खोलिनु पर्छ।”

झापामा हात्ती नियन्त्रणका लागि ५८ किलोमिटर क्षेत्रमा डिपीआर बनेको र अढाई करोड बजेट छुट्टिएको उनले जानकारी दिए। सोलार फेन्सिङले मात्रै हात्ती नियन्त्रण नहुनेमा निष्कर्षमा पुगेको उनले बताए । झापा १ का सांसदसमेत रहेका शर्माले भने,“ प्राविधिक टोली ल्याएर हात्ती नियन्त्रणको उपाय खोज्ने काम छिट्टै हुन्छ।”
आयोगबाट वितरण हुने धनीपुर्जाको कर घटाउन आफूले निरन्तर पहल गरिरहेको उनले बताए ।सीमा समस्या र मेची नदी नियन्त्रणमा सक्दो पहल गर्ने उनले आश्वासन दिए। रेल्वेमा परेका जग्गाको मुआब्जा दिनसके न्याय हुने उनको तर्क छ। यद्यपि, उनले सबै समस्या एकैपटक हल नहुने प्रष्ट्याए।

महामन्त्री शर्माले सुवास नेम्वाङको भूमिका देशका लागि साझा भएको स्मरण गरे। उनले नेम्वाङको व्यक्तित्व शालीन भएको बताए। ओल्लो घरमा शंख बजेको बेला पल्लो घरमा सनाई र मादल बज्दा राम्रो सन्देश नजाने भएर बीपी महोत्सव पार्टीले स्थगित गरेको शर्माले जानकारी दिए।

केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला सभापति देउमान थेवे , कोशी प्रदेश सांसद गोपाल तामाङ, कोशी प्रदेश सदस्य विमल आचार्य, कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, कांग्रेस झापाका पूर्वउपसभापति राम कट्टेल , मेचीनगर सभापति सुवेश पनेरु ( सुदय ), बुद्धशान्ति गाउँ सभापति चक्र शेर्मालगायतले पार्टीको वर्तमान अवस्था, जारी गाउँ ÷ नगर सम्मेलन र पार्टीमा देखिएको उभारका बारेमा धारणा राखेका थिए।
क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सुझावसहित पारित भएको छ । १९ जना सहभागीले आआफ्नो सुझाव राखेका थिए। सम्मेलनमा क्षेत्रीय सचिवद्वय गुणराज भट्टराई, सुरेन्द्र बुढाथोकी, झापा १ प्रदेश क सभापति हरि बुढाथोकीले क्षेत्रमा पार्टीको सांगठनिक अवस्था, आफूहरूले जिम्मेवारी सम्हालेपछिका कामको चर्चा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्