झापा, असोज २ । नेकपा (एमाले) ले आज दिवंगत संविधानसभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा इलाममा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

बाक्लो नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा रामबहादुर थापा ‘बादल’ प्रमुख वक्ताको रूपमा रहेका छन्।

एमालेले आज सातवटै प्रदेशमा नेम्बाङको श्रद्धाञ्जली सभा तथा विचार गोष्ठी आयोजना गरेको हो । एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गरेको हो।
शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्दैछन् ।

पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायत वक्ताका रूपमा रहेका छन्।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेशको जिम्मा दिइएको छ। लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेललाई प्रमुख वक्ता तोकिएको छ। कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा छन्।नेम्वाङ इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित थिए। नेम्वाङको अघिल्लो सोमबार राति हृदयघातका कारण निधन भएको थियो। नेम्वाङ एमाले उपाध्यक्षसमेत थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्