झापा, असोज ३ । साउदी अरबको रियादबाट बेपत्ता घनेन्द्र सुवेदी एक्जिट १९ मा सकुशल भेटिएका छन् ।

बुधबार साँझ ६ बजे १९ नम्बरको रबिया हस्पिटलको छेउमा एक पाकिस्तानी रेस्टुरेन्टमा काम गर्ने नेपालीले सुवेदीको बारेमा जानकारी दिएका थिए । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापा र सहकोषाध्यक्ष सुजन घिमिरेले भेटेर, खाना खुवाएर उनको कम्पनीमा पुर्याएको जानकारी दिए ।

लगातार सात दिनसम्म उनको व्यापक खोजी गरिएको सहकोषाध्यक्ष घिमिरेले बताए । उनका अनुसार सुवेदीलाई नेपाल फिर्ता पठाउने सम्बन्धमा सरसल्लाह भइरहेको छ ।

वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका झापा दमक–९ का घनेन्द्र सुवेदी गत सातादेखि सम्पर्कविहीन भएका थिए । साउदी अरबको रियादस्थित अल अरिद कम्पनीमा सन् २००३ देखि उनी क्रेन डाईभरका रूपमा कार्यरत रहेका थिए। सुवेदी गत बुधबार बिहान ८ बजे आफ्नो मोबाइल र कम्पनीको मोबाइल सबै कम्पनीमा बुझाई कम्पनीको सुजुकी जिप गाडी लिएर सम्पर्कविहीन भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्