बिर्तामोड, असोज ३ । बिर्तामोड नगरपालिका– ३ बिर्ताबजारमा निर्माणाधिन रहेको कृषि तथा सामुदायिक भवनमा ठेकेदारले कमसल इटा प्रयोग गरेको फेला परेपछि वाल भत्काईएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ योजना अधिकृत जय तिम्सिना,वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको टोलीले आज गरेको अनुगमनका क्रममा कमसल इटा प्रयोग गरेको फेला परेपछि वाल भत्काइएको हो ।कमसल इटा प्रयोग भएको वाल तुरुन्तै भत्काएर गुणस्तरीय इटा प्रयोग गरी नयाँ वाल निर्माण गर्न नगर प्रमुख प्रसाईले निर्देशन दिएकी छन् ।

एक नम्बर इटा प्रयोग गर्नुपर्नेमा ठेकेदारले दोस्रो तलाको वालमा दुईदेखि चार नम्बरसम्मको इटा प्रयोग गरेको पाइएपछि भत्काउन बाध्य भएको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।उनले अब पनि लापरवाही ढंगले काम अघि बढाए ठेकेदारलाई कानूनअनुसार हदैसम्मको कार्वाही गर्ने चेतावनी दिए ।

भवनमा यसअघि प्रयोग गरिएका इटा एक नम्बर नै भएको पाइएपनि पछिल्लो पटक खरिद गरेको इटा गुणस्तरहीन भेटिएको वडा नम्बर ३का वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिए । उनले भोलिदेखि नै वडाको तर्फबाट पनि समिति बनाएर हरेक दिन अनुगमन तथा निगरानी बढाउने बताए । ठेकेदार कम्पनीले ४ ट्रयाक्टर इटा कमसल आएको स्वीकार गरेको छ । कम्पनीका सुपरभाइजर सुदिप चौलागाईले नगरपालिकाको निर्देशन अनुसार कमसल इटा फिर्ता गरी गुणस्तरीय इटा मगाएर प्रयोग गर्ने बताए ।
सरकारको ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित)को लागतमा भवन निर्माण भईरहेको छ । सम्झौताअनुसार २०८० असोज ६ गते योजना सम्पन्न गर्नु पर्ने छ । ठेकेदार कम्पनीले हालसम्ममा ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

अनुगमनमा वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा, वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, संगिता सिवा, शर्मिला राजवंशी, वडा नं ३ का वडा सदस्य हरि बास्कोटा र लक्ष्मी रोक्काको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्