झापा, असोज ४ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले इलामको सूर्योदयस्थित एक विद्यालयलाई सहयोग प्रदान गरेको छ ।

सूर्योदय नगरपालिका ५ समालबुङ्गस्थित शान्तिधारा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई छिमेक लघुवित्त वित्तीय संस्था शाखा कार्यालय सूर्योदयले २० थान ट्रेकसुट वितरण गर्नुका साथै वित्तीय साक्षरता प्रदान गरेको हो । २० जना जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई ट्रेकसुट वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगनारायण प्रधान, वडा नं. ५ का वडा अध्यक्ष उर्गेन बम्जन, प्रधानाध्यापक हेमकुमार क्षेत्रीका साथै विद्यालयका शिक्षक, शिक्षिका र व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

संस्थाका सूर्योदय शाखाका शाखा प्रबन्धक सुशिलकुमार साहले संचालन गरेको कार्यक्रममा कोशी प्रादेशिक कार्यालयबाट विष्णुबाबु पन्तले औचित्यमाथि प्रकाश पारेका थिए ।कार्यक्रममा वित्तीय साक्षरताको महत्वका बारेमा प्रकाश पार्दै केन्द्रीय कार्यालय सामाजिक विकास तथा ग्राहक संरक्षण विभागका प्रकाश राजवंशीले वित्तीय अनुशासनको पालना सबैले गरे मात्र परिवारमा सुख, शान्ति, समृद्धि ल्याउन सकिने बताए ।

छिमेक लघुवित्त वित्तीय संस्था २०४८ सालमा स्थापना भएको हो । हाल छिमेक लघुवित्त वित्तीय संस्थाले ६९ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरी कार्यक्रम संचालन गरिरहेको छ । निकट भविष्यमा नेपालभरि शाखा विस्तार गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्