झापा,असोज४।पाँचथर सदरमुकाम फिदिमको खेल मैदान निर्माणको काम सकिएको छ । ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि अलपत्र परेको खेल मैदान स्तरोन्नतिको काम अगाडी बढाउन फिदिम नगरपालिकाले दबाब दिएसँगै फुटबल खेल्न सक्ने अवस्थामा पुगेको हो ।खेल मैदानको स्तरवृत्ति गर्न सम्झौता गरेको पिएस.किरातेश्वर मैनाचुली जे.भि.का सञ्चालक सम्पर्कमा नआउँदा मैदान अलपत्र परेको थियो । जेभिले १० करोड ७९ लाख ८७ हजार ७ सय ८१ रुपियाँ लागतमा फिदिम मावि.खेल मैदान निर्माण गर्न २०७७ साल माघ १२ गते सम्झौता गरेपनि काम नगर्दा चार वर्षदेखि यहाँ खेलकुद गतिविधि ठप्प भएका थिए । मैदान सम्म्याएर खेल्न सक्ने अवस्थामा पुर्‍याइएपनि रिटेनिङ वाल, सर्टर, प्यारिफिट, कार्यालय भवन, चेन्जिङ रुम र गेट निर्माणका काम भने अधुरै छन् ।यसैबिच फिदिम नगरपालिकाले निर्माण व्यवसायीलाई पत्र लेख्दै काम अगाडी नबढाए हस्तक्षेप गर्ने दबाब दिएको थियो । मैदानको स्तरोन्नतिसँगै अब चार वर्षदेखि रोकिएका फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप र पाँचथर महोत्सव जस्ता गतिविधि अगाडी बढ्ने नगर प्रमुख मित्रप्रसाद काफ्ले बताउनुहुन्छ ।एक महिना अगाडी सम्पर्कमा आएको निर्माण कम्पनीका प्रतिनिधिले खेल मैदान सम्याएर बुधबार फुटबल खेल्नसक्ने अवस्थामा पुर्‍याएका हुन् । यद्धपी निर्माण कम्पनीलाई उपकरण जुटाउन नगरपालिकाले नै सहयोग गरेको छ । स्तरोन्नति गरेर तयार पारिएको खेल मैदानमा बुधबार साँझ कर्मचारी र नागरिक समाजबिच मैत्रीपूणन फुटबल प्रतियोगिता आयोजना गरेर उद्घाटन गरियो । प्रतियोगितामा कर्मचारीलाई २ का विरुद्ध ३ गोल लगाएर नागरिक समाजको टिम विजयी भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्