झापा, असोज ४ । बिर्तामोडमा सुरक्षित भवन निर्माणको लागि डकर्मी सीप अभिवृद्धि तालिम सुरु भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रदेश सहयोग कार्यक्रमअन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले स्वदेश तथा विदेशका लागि सीप अपरिहार्य रहेको बताइन् । कामको महत्व नबुझेर देश पछि परेको गुनासो गर्दै उनले महत्व दिएर सिक्न सहभागी सबैलाई आग्रह गरिन् ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले घर निर्माणमा काम गर्ने कामदारहरु तालिम प्राप्त हुनु पर्ने धारणा राखे । उनले सीप सिकेपछि जिम्मेवारी लिएका विषयमा समेत सुक्ष्म तरिकाले हेर्न आग्रह गरे । कार्यक्रममा नगरका प्रवक्ता तथा वडा नम्बर १का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले सहभागीहरुलाई समयलाई ख्याल गर्दै अनुशासनमा बसेर तालिम लिन आग्रह गरे ।
तालिममा विशेष गरी भवन आचारसंहिताको विषयमा प्रशिक्षण प्रदान गरिने छ। ईन्क्लुसिभ कन्स्ट्रक्सन र ट्रयास जेभीले वडा नम्बर १ को सभाहलमा तालिम प्रदान गर्ने कार्यक्रम संयोजक तथा प्रशिक्षक बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

बिहीवारदेखि ६ दिनसम्म संचालन हुने तालिममा नगरका २० जनाले सहभागिता जनाएका छन् । कार्यक्रममा वडा नम्बर १ का सदस्य योगचन्द्र आङबोहाङ, रोजगार संयोजक होमनाथ भट्टराई र प्राविधिक सहायक लोचन संग्रौलाको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्