झापा,असोज ६ । एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो आकारको प्रतियोगिता आजदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदैछ ।

कोरोना प्रकोपका कारण एक वर्षपछि सरेको प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच उद्घाटन गर्नेछन् । अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

प्रतियोगिताकै लागि भनेर पूरा हाङचउ सहर सिंगारिएको छ । यसपल्ट प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहनेछ । यो एसियाली खेलकुदमा अहिलेसम्मको ठूलो सहभागिता हो । चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको थियो ।

खासमा यो प्रतियोगिता पछिल्लो सेप्टेम्बरमै हुनुपर्ने थियो । कोरोनाका कारण प्रतियोगिता एक वर्ष पछाडि सरेको हो । प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् र त्यसमा ४ सय ८१ स्पर्धा समावेश छन् । उद्घाटन समारोहमा सुरुमै गरिने मार्चपासमा एक–एक महिला र पुरुष खेलाडीले नेपालको झन्डा बोक्दै अगुवाइ गर्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले यो ऐतिहासिक अवसर पाउन लागेका छन् । निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता हुन् । यस्तै वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए । नेपालले कुल २९ खेलमा सहभागिता जनाउँदै छ । सहभागी हुने खेलाडीको संख्या भने २ सय ५३ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्