झापा ,असोज ६ । बेपत्ता भएको एक साता बित्दा पनि नेपाल टेलिकम सुरुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी अझै भेटिएका छैनन् ।

गत शनिवार विहान ९ बजेदेखि कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वाटरबाट सुवेदी बेपत्ता भएका हुन् । बेपत्ता सुवेदीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । उनले अहिलेसम्म कुनै सुराक फेला नपरेको जानकारी दिए ।‘कोही कसैसंग लेनदेन देखिदैन, कसैसंग रिसिबी पनि देखिदैन’ प्रहरी नायव उपरीक्षक कार्कीले भने,‘ परिवारले दिएको हुलियाका आधारमा खोजी कार्य र अनुसन्धान जारी छ ।’

अधिकृत छैठौ तहका कर्मचारी ३१ बर्षिय सुवेदीले नेपाल टेलिकम सुरुङ्गा शाखामा गत फागुन महिनादेखि काम गर्न थालेका हुन् । त्यहाँका कार्यालय प्रमुख असार महिनामा बिर्तामोडमा सरुवा भएपछि उनले सुरुङ्गा शाखाको जिम्मेवारी सम्हालेका थिए । सुवेदी कार्यालयको क्वाटरबाटै बेपत्ता भएका हुन् । बिराटनगर नगरपालिका ४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वाटरमा बस्दै आएका थिए ।

आफ्ना श्रीमान आफै नहराएको सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीले बताइन् । ‘क्वाटरमा वालेट , स्कुटीको चाबी , एटीएम कार्ड , मोबाइलको चार्जर , चस्मा छोडिएको छ ’उनले भनिन्,‘ घर बस्ने लुगामा उहाँ हिड्नु भएको छ ।’ ब्रजुनाले आफ्ना श्रीमानसंग अन्तिम पटक शनिवार बिहान ८ बजेर ४९ मिनेटमा कुराकानी भएको र कुराकानीमा सामान्य कुरा मात्रै भएको बताइन् । फेरि दिउँसो १२ बजे कुरा गर्दा मोवाईल अफ पाएको उनले बताइन् । सुवेदीको मोबाइल अझै अफ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्