दमक, असोज ६ । दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एक जना महिला कर्मचारीविरुद्ध प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ ।

मुलुकी अपराध संहिताको दफा १८५ अर्थात आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सोही सहकारीमा कार्यरत महिला कर्मचारीविरुद्ध इलाका प्रहरी कार्यालय दमकले मुद्दा चलाउने तयारी गरेको हो । उनलाई घटना भएकै राति प्रहरीले पक्राउ गरेको थियो ।आत्महत्या दुरुत्साहन अभियोग प्रमाणित भए अदालतले पाँच बर्ष सम्मको सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।

शनिवार विदा भएकाले आइतवार उनीमाथि आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरिने प्रहरी स्रोतले जनाएको छ । मृतक राउतको परिवारले महिला कर्मचारीविरुद्ध किटानी जाहेरी दिइसकेका छन् । बिहीबार अपरान्ह दमक ५ स्थित अन्नपूर्ण होटलको तेस्रो तलाको एक कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएका राउतले छोडेको सुसाइड नोटका आधारमा परिवारले शुक्रबार बिहान किटानी जाहेरी दिएका हुन् ।

सुसाइड नोटमा ती महिलाले आफूलाई ट्रयापमा पारेको मृतक राउतले लेखेका छन् । ती कर्मचारीले आफूबाट निकै फाइदा लिएको , स्कुटी , सुन , कपडालगायतका सामान किन्न लगाएको, धेरै रकम पनि लगेको राउतले सुसाइड नोटमा उल्लेख गरेको जनाइएको छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले सो घटनामा मृतक परिवारका तर्फबाट परेको किटानी जाहेरी परेको जनाउँदै आत्महत्या दुरुत्साहनको आरोपमा ती महिलामाथि थप अनुसन्धान अघि बढाइने जानकारी दिए ।

३७ बर्षिय राउत बिहीबार बिहान करिब ९ बजेदेखि एकाएक घरपरिवार र कार्यालयको सम्पर्क बाहिर थिए । प्रहरीले राउतले प्रयोग गर्दै आएको मोवाइल फोनबाट लोकेशन ट्रयाक गर्दै दमक ५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्यभागमा रहेको अन्नपूर्ण होटल एण्ड लजको तेस्रो तलामा पुगेको थियो । त्यहाँ उनी बन्द कोठाभित्र फेन झुन्ड्याउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्