बिर्तामोड,असोज ६ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ संचालन गरेकै दिन पार्टी परित्याग गरेका बिर्तामोड ४ का वडा कमिटी अध्यक्ष गोपी अधिकारीलाई पार्टीले कारबाही गरेको छ ।

पार्टी विरोधी गतिविधि गरेको भन्दै अधिकारीलाई वडा कमिटी अध्यक्ष र साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो ।

नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीको शनिबार बसेको बैठकले अधिकारीले गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टीको निर्णय उल्लंघन गरेको, पार्टीप्रति निष्ठा र विश्वास नरहेको, पार्टीको निष्ठा र मर्यादामा आँच आउने काम गरेको, पार्टी कमिटीको गोपनियता भंग गरेको र पार्टीद्वारा सञ्चालित आन्दोलन र अभियानको विपक्षमा गतिविधि गरेको भन्दै पार्टी विधानको धारा ५७ (१) को ट र ड अनुसार कसुर गरेको ठहर गरी धारा ५७ (२) अनुसार अनुशासनको कारबाही गरी आजैको मितिदेखि वडा कमिटी अध्यक्ष र साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको जनाएको छ ।

लामो समय वैचारिक विचलन हुँदै आएका अधिकारीलाई स्थानीय चुनाव र गत वैशाख–जेठमा पार्टीले सञ्चालन गरेको पार्टी संगठन विस्तार तथा सुदृढीकरण अभियान असफल बनाउन लागेको आरोप छ । पार्टीप्रति गैरजिम्मेवार अधिकारीले गत भदौ १७ गते पार्टीमा सदस्य नै नभएका र सदस्य भएकाहरुको मञ्जुरीबिना स्थानीय सञ्चारमाध्यममा भ्रामक समाचार प्रकाशन गराएको माओवादी केन्द्रले जनाएको छ ।

गत भदौ १७ गते नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ संचालन गरेकै दिन अधिकारीसहित बिर्तामोडका ७१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्