भद्रपुर,असोज ६ । झापा सदरमुकामको पुरानो भद्रपुर बजारमा सडक व्यवस्थापन गर्न स्थानीय नगरपालिका असफल हुँदा आवतजावतका लागि कठिन बन्दै गइरहेको छ ।

भन्सार उत्तर संगम चौकसम्म जोडिने मूल सडक विस्तार गर्न नगरपालिका असफल हुँदा बजार प्रवेश असहज बन्दै गइरहेको हो ।

एक दशकयता सडक विस्तारका लागि पटकपटक नगरपालिकाले टेण्डर आह्वान गरेको देखिन्छ तर, सडक पुनर्निर्माण भने पूरा हुन नसकेकोमा स्थानीयको दुखेसो छ । स्थानीय बासिन्दाका अनुसार बजार क्षेत्रमा सडक संरचना मिचेर बनाइएका घरटहरा हटाउन दलगत अबरोध आएपछि सडक निर्माण अलपत्र पर्दै आएको हो ।
हिउँदमा धुलो र वर्षातमा हिलो मात्र भरिने सडकको दुवै किनारामा बजार क्षेत्रमा पानी बग्ने नाला समेत अबरूद्ध भएको वर्षौ बितेपनि नगरपालिकाले नाला सफाइमा समेत बेवास्ता गरेको बजारबासीको आरोप छ ।

स्थानीयका अनुसार काँग्रेस, राप्रपा र एमाले पार्टीका स्थानीय नेतृत्वले सडक विस्तारमा अवरोध सिर्जना गरी संरचना भत्काउन नदिएका कारण वर्षातमा हिलो, हिउँदमा धुलो सहनु पर्ने बाध्यता भएको हो । नगरपालिकाको नेतृत्वले पनि सडक निर्माणमा अभिभावकीय भूमिका निर्वाह नगरेको समेत आरोप लाग्ने गरेको छ ।
यस सडकअन्तर्गत संगम चौकदेखि जनता चौकसम्म एकतर्फी नाला निर्माण भएपनि दक्षिणपट्टि नाला निर्माण नहुँदा सडक विस्तार हुन सकेको छैन भने जनता चौकदेखि भन्सारसम्म नाला नै विस्तार नहुँदा साँघुरो सडकको खाल्डाखुल्डीमा दुर्घटनाको जोखिम बढेको छ ।

स्थानीय सरकारले आफ्नो दायित्व पूरा गर्ने क्रममा सडकका खाल्डाखुल्डीमा बालुवा छर्ने गरेको सो सडक दुई पाङ्ग्रे सवारीसाधनका लागि दुर्घटनाको केन्द्र बन्न पुगेको भुक्तभोगीको भनाइ छ ।
सडकको विषयमा बुझ्दा नगर प्रमुख गणेश पोखरेल सडक निर्माणका लागि यही आर्थिक वर्षबाट ठेक्का लागिसकेको जानकारी दिँदै वर्षात सकिनेबित्तिकै निर्माणको काम शुरु हुने बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्