भद्रपुर, असोज ६ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीले कोशी शब्द नै सवै जाति र वर्गको साझा पहिचान भएकाले एकल जातीय पहिचानको नारा आवश्यक नभएको बताएका छन् ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुर १० चन्द्रगढीको २४ औं वार्षिक सभालाई सम्बोधन गर्दे मन्त्री कार्कीले ९० बढी जातजातिको साझा बसोबास भएको केशी प्रदेशमा पहिचानका नाममा संकटको आवश्यकता नभएको बताएका हुन् ।
उनले कसैलाई प्रदेशको नाम फेर्ने रहर भए अबको ४ वर्ष पर्खेर सदनमा दुईतिहाई जनमत प्राप्त गरी नामकरण गर्दा हुन्छ भन्देै पहिचानका नाममा अराजकता निम्त्याउन कसैलाई छुट नभएको प्रष्ट पारे ।
मन्त्री कार्कीले कोशी प्रदेशमा राजनीतिक स्थायित्वका लागि काँग्रेस, एमाले र माओवादी बीचमा संवाद चलिरहेको बताउँदै सुशासनको अभाव बढ्दा राजनीतिक दलमाथि अविश्वास बढेकाले शासन शैलीमा निरन्तर सुधार गर्न आवश्यक रहेको मन्त्री कार्कीको भनाइ छ ।
मन्त्री कार्कीले प्रदेशको अधिकार संघमै राख्ने एकात्मकवादी सोचले प्रदेश सरकारमाथि बन्धन प्रयास भएकाले यस्तो अमिल्दो शैली अन्त्य गरेर संघीयताको मर्म उजागर गर्न आवश्यक रहेको तर्क गर्दै प्रदेशविना संघीयता नै नरहने दाबी गरे ।
सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कार्कीकोे प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको थियो ।
उपाध्यक्ष डिल्ली ढकालले स्वागत गरेको कार्यक्रमममा अध्यक्ष अधिकारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक करोड ७० लाख ७६ हजार ५०० रुपैयाँको शेयर पूँजी तथा ८०८ जना शेयरधनीसहितको विवरण पेश गरेका थिए ।
सचिव नवराज पोखरेलले सञ्चालन गरेको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराई, नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश संयोजक लक्ष्मीप्रसाद गुरागाई, निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल, राष्ट्रसेवक सहकारी संस्था इलामका अध्यक्ष गणेश अधिकारीलगायतले शुभकामना मन्तव्य राख्दै केही विकृत सहकारीका कारण सहकारी क्षेत्र बदनाम हुँदै गएकाले सवै शेयरधनी सचेत हुन आवश्यक रहेको धारणा राखेका थिए ।