भद्रपुर, असोज ६ । भद्रपुर ८ स्थित ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष गोपीकृष्ण न्यौपानेको अध्यक्षता तथा सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान गर्दै विविध गतिविधिसहित सभा सम्पन्न भएको हो ।

अध्यक्ष न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा महिला २०६ तथा पुरूष २०५ गरी ४११ जना शेयरधनी र ५ करोड ३९ लाख ९९ हजार ३११ रूपैया कुल पूँजी रहेको विवरण पेश गरेका थिए ।

उपाध्यक्ष धनकुमारी खरेल लताले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट बचतकर्ताको रुपमा सुस्मा निरौला दाहाल तथा ऋणीको रुपमा जानुका तोलाङ्गी सम्मानित भएका थिए । त्यसैगरी उत्कृष्ट सन्तति पुरस्कार सरकारी विद्यालयतर्फ सिर्जन सापकोटा र निजी विद्यालयतर्फ प्रसिद्धि निरौलालाई नगदसहित सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट शेयर सदस्य सम्मानबाट भिम दाहाल र जयकुमार प्रसाईलाई पनि सम्मान गरिएको थियो भने शेयर सदस्य सन्ततिले विद्यावारिधि गरेको भन्दै डा. अर्चना न्यौपाने तिम्सेना र डा. पवन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षण सेवाबाट अवकासप्राप्त ७ जना शिक्षक शिक्षिकालाई पनि सम्मानसहित विदाई गरिएको थियो ।

सचिव डिल्लीराम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, सहकारीका सल्लाहकार संयोजक गोकुलराज न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्