झापा, असोज ७ । काठमाडौंको राष्ट्रिय नाचघरमा कलाकार गणेश रसिकका कालजयी गीतहरु घन्किएका छन् ।

राष्ट्रिय नाचघरमा आयोजित गणेश रसिक एकल साँझमा उनका नयाँ पुराना कालजयी गीतहरु घन्किएका हुन् । छिनामखु समाजले सो कार्यक्रम गरेको थियो ।हिजो दिउँसो तीन बजेदेखि ६ बजेसम्म साङ्गीतिक साँझ भएको थियो । भोजपुरको छिनामखुमा जन्मेका गणेश रसिकको सङ्गीत तथा स्वरमा दर्जनौँ गीत लोकप्रिय छन् । २०२४ सालमा गाउँबस्तीका भाका र आवाजमा रेडियो नेपालमा गीत रेकर्ड गरेर व्यावसायिक साङ्गीतिक यात्रा शुरु गरेका उनको आज पनि गीत सङ्गीतमा उत्तिकै लगाव छ ।

५६ वर्षको लामो साङ्गीतिक यात्रामा उनले घरबेटी नानी, रातो भाले खोएँ खोएँ, धेरै सम्झे धेरै हुन्छ, हट्ने होइन डटी लड्ने, तराई हेर कति राम्रो लगायतका तीन सयभन्दा धेरै गीतहरु गाइसकेका छन् । चेतनामूलक र सकारात्मक सन्देश बोकेका गायक रसिकका गीतले लोकलयका भाका, अमर आधुनिक गीत र मनछुने प्रेमिल विम्बको संरक्षणमा टेवा पुगेको छ ।

गाउँले भाका, जनजिब्रोका शब्द, मनछुने कथा र भोगाइलाई सङ्गीतमा उतार्न सक्ने खुबी भएका गायक रसिकको काम र योगदान शब्दमा वर्णन गरेर सकिँदैन भन्छिन् – गायिका झुमा लिम्बू । गीत, सङ्गीत र साहित्यमा गर्विलो इतिहास बनाउन सफल गायक रसिकका गीतसङ्गीतले मनोरञ्जनसँगै सामाजिक जागरण र रुपान्तरणको लागि पनि ठूलो भूमिका खेल्दै आएको छ ।उनका कविता, उपन्यास, संस्मरण र निबन्ध विधामा पुस्तक पनि प्रकाशित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्