झापा, असोज ८ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा निर्माणाधिन रहेको कृषि तथा सामुदायिक भवनमा प्रयोग भएको कमसल ईटा उद्योगमै फिर्ता पठाइएको छ ।

असोज ३गते नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित जनप्रतिनिधि तथा कर्मचारीले गरेको अनुगमनमा ३ नम्बर ईटा प्रयोग भएको फेला परेको थियो । नगर प्रमुख प्रसाईले कमसल ईटा प्रयोग गरी बनाईएको वाल तत्काल भत्काउन र ईटा फिर्ता पठाउन निर्देशन दिएकी थिइन् । सोहिअनुरुप वाल त्यसैदिन भत्काईएको र शनिबार र आइतबार गरी ७ ट्रयाक्टर ईटा नमुना ईटा उद्योग हल्दिबारी १मा फिर्ता पठाईएको ठेकेदार कम्पनीका उमेश श्रेष्ठले जानकारी दिए ।

कमसल ईटा प्रयोग भएको पाईएपछि वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाको नेतृत्वमा १५ सदस्यीय अनुगमन समिति निर्माण गरिएको छ । जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय समाजसेवीहरु रहेको यस समितिले कडाईका साथ विहान बेलुकी अनुगमन गरिरहेको वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित)को लागतमा शिवालय आर.एस जेभीले भवन ठेक्का लिएर निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्