दोहा, असोज ८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि प्रवीण गुरुङले कर्मभूमि कतारबाट उप–महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनसीसी कतारका नवनिर्वाचित पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरुसँग स्नेह मिलन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै सन् २०२३ देखि २०२५ सम्मको कार्यकालका लागि औपचारिक रूपमा गुरुङले कर्मभूमि कतारबाट उप–महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कतारको एसियाना रेस्टुरेन्टमा आयोजित कार्यक्रममा आफ्नो प्रतिबद्धतापत्र सार्बजनिक गर्दै गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव गुरूङले आफूले सबै एनआरएनए अभियन्ताहरुको सुझावलाई स्वीकार्दै सचिवपछि उपमहासचिवमा उम्मेदवारी दिने बताउँदै समर्थन गर्न आग्रह गरेका छन् ।

गुरूङले महाभूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायतका दैवी विपत्तिको समयमा स्वयं उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी बासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरणका सामाजिक कार्य गरेको जानकारी दिए । हाल उनले कतारलाई कर्मथलो बनाई विभिन्न व्यवसाय गरिरहेका छन ।
गुरुङले सार्वजनिक गरेको प्रतिबद्धतापत्र

(१) सुरक्षित र मर्यादित वैदेशिक रोजगारीः

वैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै छ तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी छ । स्वदेशमा नै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमुखीकरण तथा जनचेतनाका कार्यक्रमका गर्नका लागि मेरो उम्मेदवारी हो । आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको समस्यालाई नजिकबाट बुझेकाले उहाँहरुको मुद्धा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ । सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्य गर्न मेरो उम्मेदवारी हो ।

(२) सामूहिक लगानीः
आम नेपालीले सोचेको सुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउन मेरो उम्मेदवारी हो । सामूहिक लगानीमा सबैको सानो सानो पूँजी समेटर देश विकासमा लगानी गर्न पहल गर्नेछु ।

(३) सीप र पूँजीको सदुपयोगः
विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्न मेरो उम्मेदवारी हो ।

(४) स्मार्ट एनआरएनए बनाउनः
विदेशमा रहेका सवैको अपनत्व हुनेगरी सबै वर्ग, क्षेत्र, उमेर, लिङ्गलाई समेट्ने गरी विधान र पद्धतिमा चल्ने निस्वार्थ र गैरराजनीतिक संस्थाका रुपमा आगाडि बढाउने प्रविधिमैत्री स्मार्ट एनआरएनए बनाउन मेरो उम्मेदवारी हो ।

(५) रेमिट्यान्सको सही सदुपयोग र लगानीः
मध्यपूर्व, मलेसिया, जापान र कोरियाका समस्या तथा संभावना लगभग एउटै किसिमका छन् । आज मजस्ता युवाहरुले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशतभन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । हामीले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्राथमिकता हुनेछ । अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा बैदेशिक रोजगारीले ठोस योगदान पुर्याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो ।

(६) नागरिकताको निरन्तरताका लागिः
हामीले स्थापनाकालदेखि उठाउँदै आएको नागरिकताको निरन्तरताको विषय संवोधन भएको छ । अब यसको कार्यान्वयनसहित वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल रहनेछ ।साथै गोर्खा तथा पिएनओका विषयलाई अझै निष्कर्षमा पुर्याउन मेरो प्रतिवद्धता रहनेछ ।

(७) स्वदेशमा पर्यटन प्रवर्द्धनः
पर्यटकहरुलाई नेपाल भित्र्याउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु । साथै विदेशी लगानी नेपाल भित्र्याउन एनआरएनमार्फत विशेष पहल गर्नेछु । सामूहिक लगानी ल्याउनको मेरो विशेष जोड रहनेछ ।

(८) नेपाली कला सँस्कृतिको जगेर्ना गर्नः

नेपाली कला संस्कृतिलाई विदेशमा जगेर्ना गर्नका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने मेरो प्रतिवद्धता छ । विगतमा मैले गरेका कामको अनुभवले मलाई सहज हुनेछ

(९) एनआरएनएमा युवा आकर्षित गर्नः
हामी अहिले पहिलो पुस्ता एनआरएनए अभियानमा लागेका छौ तर दोस्रो पुस्तालाई आकर्षित गर्न सकिएको छैन । दोस्रो पुस्ता वा युवाकेन्द्रित कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउँछु ।

(१०) एनआरएनएको परिभाषा कार्यान्वयन गर्नः

गैरआवासीय नेपाली संघको स्थापनाकालमा परिभाषित र विश्वमान्यतालाई समेत आधार मानी १८२ दिनभन्दा वढी सार्क मुलुकभन्दा वाहिर वसोवास गरेका नेपाली वा नेपाली मुलका व्यक्तिहरु गैरआवासीय नेपाली हुन् भन्न्ने मान्यतालाई कार्यान्वयन गराउन मेरो विशेष जोड रहने छ ।

(११) खेलकुद क्षेत्रको विकासः

हरेक नागरिकको स्वास्थ्य र व्यक्तित्व विकाससहित विश्वभर नै राष्ट्र पहिचानको लागि खेलकुद सवैमा अपरिहार्य छ । सोही आशयलाई सार्थकतामा दिनको लागि प्रदेशस्तरीय सुविधासम्पन्न बहुउद्देश्यीय स्पोर्टस क्लबको अवधारणा लिई नेपाल सरकारसंग समन्वय गरी कार्यसम्पादनतर्फ लागिने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्