दोहा, असोज ८ । बिगत दुई दशकदेखि कतारलाई कर्मथलो बनाउँदै आएका राजु रेग्मी ‘राज’ले कतारबाट गैरआवासीय नेपाली संघ एनआरएन आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कर्मभूमि कतारमा एक कार्यक्रमको आयोजना गरी वर्तमान युवा उपाध्यक्ष रेग्मीले सन् २०२३ देखि २०२५ सम्मको कार्यकालका लागि उपाध्यक्षमा पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नयाँ निर्वाचित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका पदाधिकारी र सदस्यसहित एनआरएनए महाधिवेशन प्रतिनिधिहरुसंगको भेटघाट कार्यक्रममा आगामी अक्टोबरमा काठमाडौँमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनमा आफ्नो उम्मेदवारी रहने उनले बताए । उनले विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन,दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न,एनआरएनएमा युवा सहभागिता बढाउने लक्ष्यसहित उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको बताएका छन् ।

उनको घोषणापत्रमा सामूहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता रहेका छन्।

एनआरएन अभियानमा उदीयमान तथा ऊर्जाशील रेग्मी कतारमा सफल व्यवसायी साथै समाजसेवीका रुपमा परिचित छन् । उनले ८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्