बिर्तामोड, असोज ८ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले संचालकहरु लोभी पापी भएर सहकारी संस्थाहरु बिग्रिएको बताएका छन् ।

सहकारीको दर्शन र सिद्धान्त सही हुँदाहुँदै ठगी गर्ने नियत भएका संचालकहरुकै कारण सारा सहकारीहरु बद्नाम भएको उनको भनाई छ । बिर्तामोड– ५ स्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि पोखरेलले संस्थाको अध्यक्ष को हो थाहा नहुने , बचत कति हो थाहा नदिने , संचालक समितिको बैठक बस्दै नबस्ने सहकारीहरु नै ठगेर भागेको बताए ।

विराटनगरको तुलसी सहकारीको उदाहरण दिँदै उनले त्यस सहकारीको अध्यक्ष को हो ? , दर्ता कहाँ भएको हो ?भन्ने टुंगो नहुँदा नै सदस्यहरुको रकम डुबेको बताए । उनले सहकारीहरु धरासायी बन्नुको प्रमुख कारण ठगी गर्ने प्रवृति नै भएको र जसका कारण छेउछाउका अन्य सहकारीका सदस्यहरु त्रसित हुँदै नचाहिएको पैसा पनि निकाल्दा सबै सहकारीलाई समस्या आएको जानकारी दिए । उनले देशभरि करिव ५ सय सहकारीहरु त्यसरी बिग्रिएको जानकारी दिए ।

सहकारी बिग्रिनुमा सरकार पनि दोषी रहेको उनले आरोप लगाए । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ बनेको निकै भइसक्दा पनि सरकारले सहकारी कर्जा सूचना केन्द्र ,सहकारी कर्जा असुली प्राधिकरण नबनाइदिँदा ऋण असुलीमा समस्या आएको उनले सुनाए । राजनीतिक दलहरुको सुझबुझ र दृष्टिकोण सहकारीप्रति राम्रो नभएका कारण पनि सहकारी अभियानले गति लिन नसकेको उनको भनाई थियो । सहकारीहरु विकासवादी अभियानमा रहेकाले सहकारीहरुको हिजोको साख जोगाउँदै त्यस अभियानमा सहयोग गरिदिन उनले आमजनसमुदायलाई आह्वान गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०७९–०८० को असार मसान्तसम्म संस्थाको कुल शेयर पुँजी ७ करोड ८८ लाख ६ हजार ४ सय रुपैयाँ रहेको बताए । त्यस्तै शेयर सदस्य संख्या ७ हजार ९९ रहेको बताउँदै आर्थिक वर्ष २०७९–०८० मा संस्थाले २० लाख ६० हजार २१४ रुपैयाँ खुद मुनाफा कमाएको जानकारी दिए । त्यसको अघिल्लो आर्थिक वर्षमा संस्थाले १ करोड २५ लाख ७१ हजार ८२ रुपैयाँ नाफा कमाएको थियो ।

अध्यक्ष श्रेष्ठले चालू वर्षका लागि केही नयाँ थप गरी अधिकांश पुराना योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिने जानकारी दिए । संस्थाले सदस्यहरुको सीप अभिवृद्धि गरी स्वरोजगार बनाउन सीपमुलक तालिम सञ्चालन गर्नेछ भने सदस्यसँग सतासी कार्यक्रममार्फत् सदस्य परिवारको सुखदुःखमा संस्थाको उपस्थिति रहने उल्लेख छ ।

सतासीले विगतदेखि नियमित गर्दै आएको सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु स्वास्थ्य शिविर, अन्तरक्रिया, जनचेतनामुलक कार्यक्रम, बालउमङ्ग कार्यक्रम तथा विभिन्न तहका तालिमहरु सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले प्रस्ताव गरेका छन् ।

साधारणसभा उद्घाटन समारोहका अर्का वक्ता कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले लघुवित्त र सहकारीहरुको ऋण नतिर्न उर्दी गर्दै हिड्ने समूहलाई सदस्यहरुले नै मिलेर लखेट्न आह्वान गरे ।साधारणसभाको गरिमा र महिमालाई सदस्यहरुले भत्ता पाउने अवसरका रुपमा मात्र नबुझ्न उनले आग्रह गरे । संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले सञ्चालन गरेको साधारणसभा उद्घाटन समारोहमा उपाध्यक्ष सुजाता गुरुङ थापा मगरले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्