बिर्तामोड, असोज ८ । म्यादभित्र काम सम्पन्न गर्न नसकी थप म्याद पाएको ठेकेदार कम्पनीले बिर्तामोड– भद्रपुर सडकखण्डको निर्माणमा अझै ढिलासुस्ती गर्दै आएको छ ।

पटकपटक स्पष्टीकरण सोधिएपनि बिर्तामोड– भद्रपुर सडकखण्ड निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनी काठमाडौंको कन्टेक प्रालिले बेवास्ता गर्दै आएको हो । संझौताको म्याद सकिएर थप म्याद पाउँदासमेत ठेकेदार कम्पनीले मात्र ३० प्रतिशत काम पूरा गरेको छ । बिर्तामोड–भद्रपुर सडकअन्तर्गत गरामनी–चन्द्रगढी खण्डको ८ दशमलब ४१ किलोमिटर सडक निर्माणको ठेक्का सो कम्पनीले लिएको छ । २०७७ माघ ६ गते ठेक्का संझौता गरेको निर्माण कम्पनीले साउन ५ सम्म काम सम्पन्न गर्नुपर्ने उल्लेख थियो । उक्त म्यादभित्र काम पूरा गर्न नसकेपछि आगामी फागुन ५ सम्म म्याद थप गरिएको छ । ३० महिनामा ३० प्रतिशत काम पूरा गर्न नसकेको ठेकेदार कम्पनीले थपिएको ७ महिनाको म्यादमा ७० प्रतिशत काम सक्ने देखिदैन । किनकि म्याद थपेर ठेकेदार कम्पनी चुप लागेर बसेको छ । अहिले सडक निर्माणको काम रोकिएको छ ।

ठेकेदार कम्पनीले शुरुदेखि नै काममा ढिलाई गरिरहेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए । बर्खायामका कारण काम गर्न समस्या हुने भएकाले अहिले काम रोकिएको हुनसक्ने बताउँदै उनले असोज १५ देखि काम सुचारु गर्न लगाउने जानकारी दिए । सो ठेकेदार कम्पनीले गरेको लापरवाहीका कारण गत वर्ष बजेट फ्रिज भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । ‘ठेकेदारले देउनिया –चन्द्रगढी सडकखण्ड छोएकै छैन ’ डिभिजन प्रमुख पौडेलले भने,‘ देउनिया–गरामनी सडकखण्डमा पनि सानो भागमा मात्र सवबेसको काम भएको छ , बेसको काम थालेकै छैन , कालोपत्रे कहिले गर्ने हो ?’ उनले देउनिया –चन्द्रगढी सडकखण्डमा वाल बनाउने ,नाला बनाउने, माटो भर्ने काम शुरु नै नभएको बताए ।

उक्त सडक भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । अहिलेसम्म करिव १८ करोड रुपैयाँ भुक्तानी दिइसकेको डिभिजन प्रमुख पौडेलले बताए । गरेको कामको भुक्तानी नपाएका कारण काम रोकेको ठेकेदारले गलत प्रचार गर्दै आएका छन् । ‘गरेको काम अनुसारको भुक्तानी गरिसकेका छौं’ डिभिजन प्रमुख पौडेलले भने ।

हिजो गृहजिल्ला झापा आएका सभामुख देवराज घिमिरेले सो सडक निर्माणमा ढिलाई भइरहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । सभामुख घिमिरेले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणको अवस्था बुझेपछि तत्काल निर्माण कार्य अघि बढाउन निर्देशन दिएको बताए । सभामुख घिमिरेले निर्माण व्यवसायीले बजेट नपाएको भन्दै झुटो कुरा गरेर काम रोक्ने प्रयास गरेको दावी गरे । बजेट हुँदाहुँदै पनि काम रोक्नु बेठिक हुने सभामुख घिमिरेको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्