झापा,असोज ९ । निर्माण व्यवसायीहरुले आफूहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आम जनसमुदायलाई आग्रह गरेका छन् । निर्माण व्यवसायीहरु सबै गलत हुन्छन् भन्ने आमधारणा नबनाउन उनीहरुको आग्रह छ ।

बिर्तामोडमा आयोजित निर्माण व्यवसायी संघ झापाको १५ औं साधारणसभाका सहभागी वक्ताहरुले निर्माण व्यवसायीहरुलाई गलत देखाउने परिपाटी अन्त्य गर्न आग्रह गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामाले आम समुदाय र आम मिडियालाई निर्माण व्यवसायीहरु इमान्दार हुँदैनन् भन्ने सोच नबनाउन आग्रह गरे । उनले सरकारले काम गर्ने वातावरण नबनाइदिएका कारण पनि व्यवसायीहरुले सहज रुपमा काम गर्न नसकेको बताए । एकजनाले भैसी चढ्दैमा अर्कोले घरमाथि चढ्नुपर्ने खालको अस्वस्थ्य प्रतिष्पर्धा नगर्न उनले निर्माण व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा निर्माण व्यवसायी महासंघका उपाध्यक्ष मोहनप्रसाद अधिकारी , महासचिव रोशन दाहाल ,कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारी , झापाका पूर्व अध्यक्ष गणेश बस्नेत , मोरङ अध्यक्ष महेशकुमार मिश्रलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलनकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रमेश अधिकारी र संचालन महासचिव पुष्प निरौलाले गरेका थिए ।

कार्यक्रममा उद्धेश्य निर्माण सेवाका प्रोप्राइटर नयन बराललाई सम्मान गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९–०८०मा नयाँ सदस्यता पाएका २८ जना व्यवसायीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्