हान्झाउ (चीन), असोज १० । नेपालका अलराउण्डर कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् ।

चीनको हान्झाउमा जारी पुरुष क्रिकेटअन्तर्गत कुशल मल्लले मंगोलियाविरुद्ध अहिले भइरहेको खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।

उनले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान तोडेका हुन् ।
यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ४९ बलमा शतक बनाएका थिए ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा भइरहेको खेलमा कुशल मल्लले ३४ बल खेल्दै ६ चौका र ९ छक्का मद्दतमा शतक पूरा गरेका थिए ।

कुशल मल्ल नेपालका लागि टी–२० आईमा शतक प्रहार गर्ने पाँचौ खेलाडी हुन् । यसअघि पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले टी–२०आईमा शतक प्रहार गरेका छन् ।
नेपालका लागि टी–२०आईमा व्यक्तिगत उच्च रन बनाउने कीर्तिमान पनि कुशल मल्लले बनाएका छन् । यसअघिको व्यक्तिगत उच्च स्कोर दीपेन्द्र सिंहले बनाएका थिए । उनले नटआउट ११० रन बनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्