झापा,असोज१०।दसैँतिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० दरका एक-एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने नेपाल राष्ट्र बैंकका मुद्रण विभाग प्रमुख एवम् कार्यकारी निर्देशक ईडी नरेश शाक्यले जानकारी दिए । ‘दसैँतिहारका लागि कति नयाँ नोट चाहिन्छ अहिले नै यकिन भएको छैन । तर, विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिने गरी हामीले तयारी गरेका छौँ’ कार्यकारी निर्देशक शाक्यले भने ।बजारको माग र आवश्यकताका आधारमा केन्द्रीय बैंकले आवश्यक सुकिला नोटको व्यवस्था गरेको बताउँदै कार्यकारी निर्देशक शाक्यले उपत्यकासहित देशका सात वटै प्रदेशस्थित राष्ट्र बैंकको शाखा कार्यालयहरूमार्फत सर्वसाधारणका लागि नोट सटही सुविधा उपलब्ध गराइने बताए । मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूलाई समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने शाक्यको भनाइ छ ।

नोट सटहीका लागि क्यूआरको व्यवस्था गरिने

सर्वसाधारण सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै केन्द्रीय बैंकले पहिलो पटक क्यास सटहीमा क्यूआरको प्रयोग गर्ने तयारी गरेको छ । सेवाग्राहीको भिडभाड र सहजताका लागि यस्तो व्यवस्था गर्न लागिएको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए । यस्तो क्यूआर सुविधा राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सबै सटही काउन्टरहरूमा उपलब्ध हुनेछ । तर, अन्य बैंक तथा वित्तीय संस्थाहरूले भने आफू अनुकूल सटहीको सुविधा लिन सक्ने उनले बताए । यसअघि नगद सटहीमा यस्तो सुविधाको व्यवस्था गरिएको थिएन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्