बिर्तामोड, असोज १० । सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितहरुको समस्या समाधानमा तत्काल पहल थाल्ने बताएका छन् ।

सभामुख घिमिरेले बिर्तामोडस्थित सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा समन्वय समितिको ज्ञापनपत्र बुझ्दै त्यस्तो आश्वासन दिएका हुन् ।
समितिका कोशी प्रदेश संयोजक डा.लक्ष्मीप्रसाद मैनाली नेतृत्वको टोलीले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउदै रेलमार्ग प्रभावितका समस्याहरुबारे ध्यानाकर्षण गराएका थिए ।

रेलमार्ग प्रभावितको समस्यालाई आफूले गम्भीर रुपमा लिएको बताउँदै सभामुख घिमिरेले काठमाडौं फर्किएलगत्तै प्रभावित क्षेत्रका सांसदहरुसंग छलफल थाल्ने, प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराउने बताए । उनले रेलमार्ग प्रभावितका माग जायज रहेको भन्दै पूरा गर्न तत्काल पहल थाल्ने बताएका हुन् ।
समितिका महासचिव रञ्जित प्रसाईंका अनुसार अब सरकारले माग पूरा नगरे कानूनी उपचार र निर्णायक आन्दोलन गर्ने तयारीमा प्रभावितहरु छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्