बिर्तामोड, असोज १० । करिव दुई सय वर्ष पुरानो पिपलको बोट संरक्षण गर्न बिर्तामोड ४ का बासिन्दा लागिपरेका छन् ।

धार्मिक एवं ऐतिहासिक महत्व हुँदाहुँदै संरक्षणको पर्खाइमा रहेको बिर्तामोड ४ स्थित पुरानो पिपलको बोट जोगाउन स्थानीय जुटेका हुन् । उनीहरुले सहयोग जुटाई त्यस बोटलाई घेरावारा गरेका छन् । त्योसंगै धार्मिक एवं ऐतिहासिक महत्वको त्यस सिंहबाहिनी देवी पिपलबोटमा उनीहरुले श्रीमद् देवी भागवत महापुराण आयोजना गरेका छन् ।

पिपलको बोटको संरक्षण, संबर्धन र प्रचारप्रसार गर्ने उद्देश्यले पुराण आयोजना गरिएको सिंहवाहिनी देवी पिपल बोट श्रीमद् देवी भागवत् महापुराण मूल आयोजक समितिकी अध्यक्ष हेमकला कट्टेलले बताइन् ।
२०८० सालको बडादशैंको शुरु हुनुअघि नौरथाको अवसर पारेर नौदिने श्रीमद् भागवत देवी महापुराण आयोजना गर्न लागिएको अध्यक्ष कट्टेलले बताइन् ।

पुराण आयोजना गर्नका लागि कट्टेलको अध्यक्षतामा १३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा हरिप्रसाद तिम्सिना , पार्वता बिमली खरेल , शान्तिबहादुर कार्की ,महासचिव उमा शिवाकोटी , सचिव उमा तिम्सिना र कोषाध्यक्षमा कृष्ण सुवेदी रहेका छन् । त्यस्तै सदस्यहरुमा इन्दिरा आचार्य , गीता भट्टराई , पार्वता बस्नेत , लवकुमार चौधरी , बमबहादुर मैनाली र टीका पोखरेल रहेका छन् । त्यस्तै विभिन्न ९ वटा उपसमिति गठन गरिएको छ । त्यस ऐतिहासिक पिपलको बोटको संरक्षण गरी पुराणको आयोजनाबाट सामुदायिक भवन निर्माण गर्ने योजना रहेको अध्यक्ष कट्टेलले जानकारी दिइन् । अध्यक्ष कट्टेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवी महताराको प्रमुख आतिथ्यमा पुराणको घोषणा गरिएको हो । असोज २८ गतेदेखि बडादशैंको महानवमीसम्म सञ्चालन हुने पुराणको प्रमुख अतिथि महताराले घोषणा गरेकी हुन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख महतारा, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्य, बिर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष राहुल शर्मा, वडा नं.–६ का अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, पूर्व जनप्रतिनिधि हर्कलाल गिरी, शिक्षासेवी गुरुभक्त न्यौपाने, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, समाजसेवी चैतन्य मैनालीलगायतले शुभकामना मन्तव्य राख्दै ऐतिहासिक धरोहरको संरक्षण गर्नु सबैको दायित्व भएको धारणा राखेका थिए ।

पुराण आयोजक मूल समितिकी उपाध्यक्ष पार्वता खरेल विमलीले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश उपाध्यक्ष हरि तिम्सिनाले पारेका थिए भने महासचिव उमा शिवाकोटीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् । सो पिपलको बोट महेन्द्ररत्न माविको जग्गामा रहेको छ । एक विगाह ११ कठ्ठा १७ धुर जग्गा जात्रु चौधरीले महेन्द्ररत्न माविलाई दान दिएका थिए । पुरानो सो पिपलको बोटमा आदिवासीहरुले परापूर्वकालदेखि पूजाआराधना गर्दै आएका थिए ।

१ प्रतिक्रिया

  1. पिपलको सरक्षण ठिकै होला, त्यो पिपलको बोट भनेको सदियौ देखि राजबशी , चौधरी आदिवासीहरुको पुज्य स्थल ” गोरम थान ” रहेको बुझिएकोछ तर अहिले त्यो पिपलको बोटलाई नया नाम नामाकरण गरियो भन्ने सुन्नमा आएकोछ !।
    मेरो विचारमा आफ्नो झुण्ड ठुलो छ भन्दैमा अर्काको ऐतिहासिक स्थलमा अतिक्रमण गर्न हुदैन ! अर्थात त्यहा स्थित स्थानीयहरु जो पहाडी समुदायको होइनन सग समन्वय गरेर कार्य गर्नुपर्थ्यो ! किन कि अहिलेका आदिवासी , जनजाती हरेक दृस्ठिकोणले आर्थिक , शैक्षिक र शक्तिको आधारमा कम छैनन !

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्