झापा, असोज ११ । माओवादीको अभियान चलिरहेका बेला झापाको बिर्तामोडमा नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने क्रम जारी छ ।

यसक्रममा माओवादी केन्द्रका कोशी प्रदेश सदस्य बासु दुलाल र वाईसीएल नगर संयोजक सुदिव खवासले बुधबार पार्टी परित्याग गरेका छन् । पार्टीभित्रको अराजकता, विसंगति र अराजनैतिक गतिविधिले पार्टी संगठन भद्रगोल भएको र नेतृत्वको जीवनशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरूले पार्टी छाडेका हुन् । माओवादी केन्द्रमा समाजवादसम्म पुग्ने स्पष्ट र वैज्ञानिक दृष्टिकोण, नीति तथा कार्यक्रम नभएको तथा सत्ताकेन्द्रित राजनीतिले कार्यकर्ता र जनतामा चरम निराशा उत्पन्न गराएको उनीहरूले बताएका छन् ।

गैरकम्युनिस्ट बाहेकका पार्टीहरूबीच तत्काल एकता कायम गरी समाजवादी कम्युनिस्ट केन्द्र निर्माण गर्न जनस्तरबाट दबाब दिन पार्टीबाट राजीनामा दिएको उनीहरूले बताएका छन् ।

यसअघि शनिबार ७१ जनाले पार्टी परित्याग गरेका थिए । माओवादी आन्दोलनमा आफूहरू लामो समयदेखि क्रियाशील रहेको भएपनि पार्टी समाजवादी बाटोमा नहिडेकाले पार्टी छाडेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्