झापा , असोज १२ । महिला कर्मचारीसंग जंगलमा डेटिङमा जाँदा फेला परेका अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाइएको छ ।

अर्जुनधारा नगरपालिकाको शनिश्चरे अस्पताल व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले अनैतिक क्रियाकलापमा संलग्न भएको भनी दावी गरिएको हुँदा सो सम्बन्धमा के भएको हो भनी निजसँग स्पष्टिकरण माग गर्ने र अर्को व्यवस्था नहुञ्जेल उनलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीबाट अलग गर्नका लागि कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनका प्रेस सल्लाहकार नन्दलाल खतिवडाले जानकारी दिए ।

व्यवस्थापन समितिको सिफारिसको आधारमा बस्नेतलाई आजैको मितिदेखि स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट हटाएको नगरपालिकाले जनाएको छ । शनिश्चरे अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका बस्नेतलाई लिखित स्पष्टिकरणका लागि ३ दिनको म्याद पनि दिइएको छ ।

यसैगरी, घटनामा संलग्न भनिएकी महिला स्वास्थ्यकर्मीलाई पनि स्पष्टिकरणका लागि ४८ घण्टाको समय दिने अस्पताल व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बस्नेत र अस्पतालकी एक महिला कर्मचारीसँगको भिडियो सार्वजनिक भएसँगै आकस्मिक बैठक बोलाइएको थियो नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै अस्पतालमा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले नै जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो । बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाहा पाएसँगै पछ्याएको र उनीहरुलाई जंगलमा भेटेपछिको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । अस्पतालमा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ। भिडिओमा बस्नेतकी श्रीमतीले बस्नेतलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ । घटना सार्वजनिक भएसँगै नगरपालिका, स्वास्थ्य शाखा, शनिश्चरे अस्पताल र स्वास्थ्यकर्मीको सर्वत्र आलोचना भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्