झापा, असोज १२ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई आज साँझ काठमाडौंबाट पक्राउ गरेको हो ।
उनी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् । उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । कार्यालयका एक प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो ।
उनलाई १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । त्यसको अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको ती प्रहरीले बताए । केसी मिनभवनस्थित कार्यालयको नियन्त्रणमा छन् ।

आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
चलचित्र ‘रावायण’मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिए पनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएको भनी निर्माताले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको उनले जानकारी दिए । केसीविरुद्ध निर्माता चन्द्रकला कटवाल थापाले जाहेरी दिएकी थिइन्।

सहमतिका लागि बोलाउँदा समेत नआएर ‘प्रहरीले सकेको गरोस्’ भन्ने प्रतिक्रिया दिएपछि केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ।

प्राप्त विवरणमा केसीसहित चलचित्रका अन्य कलाकारसमेतले गरेर निर्माताहरूबाट एक करोड १५ लाख लिएको पाइएको छ। उनीहरूका विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्