एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी अधिकारी पनि छन् । बलुचिस्तानको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा परी करिब ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यम डनन्युजले जनाएको छ ।

जिल्ला स्वास्थ्य अधिकारी अब्दुल रशिद शाहीले घटनाको मृतकको संख्या पुष्टि गरेका छन् । उनका अनुसार अल फलाह रोडस्थित मदिना मस्जिदमा धार्मिक कार्यक्रमका लागि स्थानीय जम्मा भएको समयमा विस्फोट भएको हो । मस्जिद नजिक स्थानीय इद उल मिलादको उत्सव मनाउने र जुलुस निकाल्ने तयारीमा थिए । डीआईजी मुनिर अहमदका अनुसार आक्रमणकारीले प्रहरीको सवारीनजिक विस्फोट गरेका थिए । विस्फोटमा परी नवाज गशगुरीको मृत्यु भएको छ ।

सहिद नबाब गौस बख्स रायसानी मेमोरियल अस्पतालका प्रमुख कार्यकारी डा. सइद मिरवानीले आफ्नो अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए । उनले २० भन्दा घाइतेलाई थप उपचारका लागि क्वेटा रेफर गरिएको पनि बताए । सामाजिक सञ्जालमा आएका भिडियोमा उद्धारकर्मी र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको दृश्य देखिएको छ । हालसम्म यो घटनाको कसैले जिम्मेवारी लिएका छैनन् ।
पाकिस्तानका गृहमन्त्री सरफराज बुग्तीले घटनाको निन्दा गरेका छन् । बलुचिस्तानका कार्यवाहक मुख्यमन्त्री मिर अली मर्दन खान डोमकीले घटनाको जाँच गर्न आदेश दिएका छन् ।

यस्तै, शुक्रबार नै खैबर पख्तुनख्वाको हंगुस्थित दोआबा प्रहरी स्टेसनमा दुई विस्फोट हुँदा एक प्रहरी अधिकारीसहित कम्पनीमा कार्यरत चार जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् । पहिलो विस्फोट प्रहरी स्टेसनको प्रवेशद्वारमा भएको हंगु जिल्ला प्रहरी अधिकारी निसार अहमदले बताए । त्यसपछि घटनास्थलमा स्थानीय जम्मा भएका थिए । त्यसपछि प्रहरी स्टेसनको परिसरस्थित मस्जिदमा अर्को विस्फोट भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्