झापा, असोज १२ । झापाका मुटुरोगीहरूले औषधि उपचार निःशुल्क हुनुपर्नेलगायतका विभिन्न ६ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

विश्व मुटु दिवसको अवसर पारेर मुटुपीडित समूह बिर्तामोडले जिल्ला प्रशासन कार्यालय झापा, स्वास्थ्य कार्यालय झापा र प्रादेशिक अस्पताल भद्रपुरलाई सो ज्ञापनपत्र बुझाएको हो। समूहका अध्यक्ष वीरेन्द्रकुमार बुढाथोकी, उपाध्यक्ष तिलोचन खनाल र सचिव भीममाया तामाङसहितको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी र प्रादेशिक अस्पताल भद्रपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्कालाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा मुटुरोगीहरुले पाउने मासिक भत्ता पाँच हजार अनिवार्य उपलब्ध गराउनुपर्ने, पिटिआई एनआर सम्पूर्ण सेवाहरू जिल्लाहरूमा निःशुल्क उपलब्ध गराउनुपर्ने, शल्यक्रिया गरेका मुटुरोगीहरूलाई उमेरको हद नलगाई सरकारी रोजगारीमा अनिवार्य कोटासहित समावेश गर्नुपर्ने, स्वास्थ्य बिमा गरेका मुटुरोगीहरूले सबै स्थानबाट बिना झन्झट निःशुल्क औषधि पाउनु पर्ने, अत्यन्तै गरिब परिवारका मुटुरोगीहरू तथा शल्यक्रिया गरेका मुटुरोगीहरूलाई आर्थिक सहुलियत प्रदान गर्नुपर्ने माग राखिएको समूहका अध्यक्ष बुढाथोकीले जानकारी दिए।

विश्वमा मुटुरोगीहरू बढिरहेको अवस्थामा नेपालमा पनि मुटुरोगीहरूको संख्या पनि दिन प्रतिदिन वृद्धि भइरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्