झापा,असोज १३ । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशनले विराटनगर यतिबेला गर्माएको छ ।

अधिवेशनमा नयाँ नेतृत्व कसले पाउँछ भन्ने एमालेवृत्तमा चासो बढेको छ । हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका छन्। अधिवेशनबाट नेतृत्व चयनको तयारी भइरहँदा सर्वसम्मत चयन गर्ने वा प्रतिस्पर्धा हुने भन्ने छलफलको विषय बन्दै गइरहेको छ। कोशी प्रदेशको अध्यक्षमा यतिबेला मोरङका दुईजना नेताहरू विनोद ढकाल र घनश्याम खतिवडाको नाम चर्चामा रहेको छ।

उनीहरू दुईबीच प्रतिस्पर्धा हुने एमालेकै नेता कार्यकर्ताहरूको भनाइ छ। स्रोतका अनुसार अध्यक्ष ओली खतिवडालाई कोशी प्रदेशको अध्यक्ष बनाउने तयारीमा रहेका छन् भने यता विनोद ढकाल संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङनिकट मानिन्थे।

उनका अनुसार नेम्वाङको मृत्यु हुनु अगाडि ढकालले टेलिफोनमार्फत सम्पर्क गर्न खोजेको तर आफू बिरामी भएका कारण बिहान कुरा गर्ने भनाइसहित फोनमार्फत बिदा भएका नेम्वाङ सधैँका लागि अस्ताए। जुन संवाद नेम्वाङको ढकालसँग अन्तिम रहेको हुनसक्ने ती नेताको दाबी छ।

तत्कालीन समय माधवकुमार नेपालनिकट रहेको खतिवडालाई विद्यार्थी अवस्थादेखि नै ओली समूहमा सक्रिय रहँदै आएका ढकालले टक्कर दिने भएका छन्। एमाले मोरङको पाँचौँ अधिवेशनमा नेपाल समूहबाट उम्मेदवार बनेका खतिवडालाई ढकालले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए।

त्यसो त अध्यक्षका आकांक्षीमा हालका प्रदेश अध्यक्ष संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई केन्द्रीय सदस्य बनाएर खतिवडाको समर्थनमा उभ्याउने प्रयास भइरहेको बुझिएको छ। अध्यक्षको आकांक्षा राख्दै आएका हाल उपाध्यक्ष रहेका धनकुटाका टिकाराम चेम्जोङलाई पुनः उपाध्यक्ष बनाउन नेताहरूले लबिङ गरिरहेका छन्। यदि न्यौपाने र चेम्जोङ पछि हटे ढकाल र खतिवडा प्रतिस्पर्धाको मैदानमा रहने देखिएको छ।
स्थायी समितिका सदस्यहरू अग्नि खरेल, भानुभक्त ढकाल, गुरु बराललगायत नेताहरू खतिवडाको पक्षमा उभिएका छन् भने प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्य भने ढकालको पक्षमा खुलेको एमालेका एक केन्द्रीय सदस्यले बताए।
ढकाल पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट रहेको चर्चा हुने गरेको छ। सोही कारण पनि अध्यक्ष ओलीसँगको सम्बन्ध चिसिएको भन्ने गरिन्छ। केही समय अगाडि एमाले नेता कर्ण थापाले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउनुपर्ने अन्तरवार्ता दिएपछि ओली मात्र नभएर सिंगो एमाले नै तरंगित भएको थियो।

संसदीय राजनीतिमा लगातार पराजित रहेका उनका समकालीनहरू अधिकांश मन्त्री, मुख्यमन्त्री मात्र भएका छैनन्, पार्टीको स्थायी समिति र पोलिटब्युरोसम्म पुगिसकेका छन्। तर, हक्की स्वभावका ढकाल भने आफ्नै पार्टीभित्र अवसरबाट वन्चित रहेको नेताको रूपमा पनि चिनिन्छन्। उनी पार्टीको केन्द्रीय सदस्य मात्र छन्।
कोशी प्रदेशमा पार्टी अध्यक्ष ओलीले कसैलाई पनि कुनै लाइन नदिएको र ढकालप्रति सहानुभूति राखिरहेको तल्लो तहका महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । जुन कुराको पुष्टि अध्यक्ष ओली आफैंले हिजो बेलुका विराटनगरबाट काठमाडौं जाने क्रममा एयरपोर्टमा ढकाललाई दर्शाएको मायाले देखाएको छ ।
विदाई गर्न एयरपोर्टको भीआइपी कक्षमा पुगेका ढकाललाई ओलीले अँगालो मारेर शुभकामना दिएको प्रत्यक्षदर्शी एमालेकै नेताहरु बताउँछन् ।

विराटनगरको होटल मनास्लुमा राखिएको अधिवेशनका लागि मनोनयन हुने ५० जना प्रतिनिधि भने अझै चयन भएका छैनन् । नेतृत्वमा भइरहेको हानाथाप र विवादकै कारण अहिलेसम्म प्रतिनिधिहरु मनोनयन हुन नसकेको हो । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ४७ जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताइएको छ । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्