झापा, असोज १३ । इलामको रोङ गाउँपालिकास्थित सानो पाथीभरा मन्दिरको विषयमा गठित छानबिन समितिले आधिकारिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालय इलाममा शुक्रबार पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले छानबिन प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
छानबिन समितिले प्रतिवेदन बुझाएको दुई सातापछि प्रजिअ पोख्रेलले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ बराबरको हिसाब नदेखिएको उल्लेख छ । त्यस्तै १७ लाख ६६ हजार ९ सय ९ रुपैयाँ बैंक मौज्दातमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले आर्थिक वर्ष ०७५–७६ देखि ०७९ माघ मसान्तसम्म मन्दिरको आम्दानी ३ करोड १४ लाख ६२ हजार नौ २९ रुपैयाँमध्ये दुई करोड २० लाख ९१ हजार दुई ४२ रुपैयाँ मात्र खर्च देखिएको जनाएको छ ।प्रतिवेदनमा आव ०७५–७६ मा ८६ लाख ६ हजार ६ सय ६४, ०७६–७७ मा ७१ लाख ४३ हजार ३ सय ४५, ०७७–७८ मा ४२ लाख ३ हजार ५ सय ३४, ०७८–७९ मा ८२ लाख १ हजार ७ सय ७३ र ०७९ माघसम्म ३३ लाख ७ हजार ६ सय १२ रुपैयाँ आम्दानी भएको उल्लेख छ ।

त्यस्तै खर्चतर्फ आव ०७५–७६ मा ९१ लाख ९१ हजार १ सय ९५, ०७६–७७ मा ५० लाख २५ हजार ७ सय ७०, ०७७–७८ मा ३६ लाख ५० हजार ६ सय २२, ०७८–७९ मा २८ लाख १३ हजार ७ सय ७८ र ०७९ माघसम्म १८ लाख ९ हजार ८ सय ७७ रुपैयाँ देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्राप्त कागजातका आधारमा ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ पाथीभरा संरक्षण संस्थासँग मौज्दात देखिएपनि त्यो रकम कहाँ छ भन्ने पत्ता लाग्न नसकेको छानबिन समितिको भनाई छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गत ३१ भदौमा प्रजिअलाई प्रतिवेदन बुझाएको थियो । तर प्रजिअले अध्ययनका लागि भन्दै तत्काल प्रतिवेदन सार्वजनिक नगर्ने बताएपछि गाउँपालिकाले ४ असोजमा पत्रकार सम्मेलन अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । सो अध्ययन प्रतिवेदनमा उल्लेखित विवरण र छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनको विवरणमा एकरूपता देखिएको छ ।

छानबिन समितिमा रोङ गाउँपालिकाको तर्फबाट प्रतिनिधिका रुपमा चार्टर एकाउन्टेन प्रज्वल अधिकारी सदस्य थिए । गाउँपालिको अध्ययन प्रतिवेदन समेत उनै अधिकारीले तयार गरेका थिए । त्यसैले दुवै प्रतिवेदनमा भाषिक भिन्नता भएपनि आम्दानी र खर्चको विवरणमा एकरूपता छ ।

पाथीभरा मन्दिरमा भेटी हिनामिना भएको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले गत २३ जेठमा सहायक प्रजिअ कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । पाथीभरा संरक्षण संस्थाको मातहतमा रहेको सानो पाथीभरा मन्दिरको नामले चिनिएको मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाले लिएको छ ।
पुरानो समितिले विगत ५ वर्षमा ३ करोड मात्र भेटी संकलन गरेको देखिएको छ । पालिकाको मातहतमा आएपछि फागुनयता मात्र १ करोड ६ लाख भन्दा धेरै भेटी संकलन भएको रोङ गाउँपालिकाले जनाएको छ ।
कारबाही गर्ने प्रजिअको प्रतिबद्धता
यता प्रजिअ पोख्रेलले पाथीभरा संरक्षण संस्थालाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अब हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसँग छलफल र परामर्श गर्छौँ’ प्रजिअ पोख्रेलले पत्रकारहरूसँग भने, ‘संस्था तथा संस्थाका पदाधिकारी र सदस्यहरूलाई कानुन बमोजिम कारबाही गर्छौँ ।’ प्रजिअ पोख्रेलले कहिलेसम्म कारबाही गर्ने भन्ने यकिन गर्न भने नसकिने बताए । उनले तालुकदार निकायसँगको छलफल र परामर्शका आधारमा कानुनी कारबाही गर्ने बताउँदै समय भने यकिन गर्न नसकिने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्