झापा,असोज१३।भारतदेखि आएका तीर्थयात्रीले पाथीभरा मन्दिरमा चढाएको ३५ क्विन्टलभन्दा वढी भारतीय सिक्का सटहीमा समस्या भएको छ । पाथीभरा क्षेत्रमा चढाएको सिक्का पाथीभरा क्षेत्र विकास समितिले संकलन गरेर राखेको छ ।एकमुष्ट सटहीका लागि नेपाल राष्ट्र बैंक कोशी प्रदेश कार्यालय विराटनगरसँग समन्वयको प्रयास गरेको क्षेत्र विकास समितिले जनाएको छ ।पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार गत असार मसान्तसम्मको सिक्का सदरमुकाम फुङलिङ ल्याएर गोदाम गरिएको छ । मन्दिरदेखि सदरमुकामसम्म ढुवानी गर्न करिब एक लाख रुपैयाँ खर्च भएको छ ।मन्दिरदेखि काफ्ले पार्टीसम्म मान्छेले बोक्दा ढुवानी प्रतिकिलो २० रुपैयाँ र त्यहाँदेखि गाडीमा ल्याउँदा ६ रुपैयाँ गरी २६ रुपैयाँ पर्न आउछ । ३५ क्विन्टलको ढुवानी खर्च ९६ हजार रुपैयाँ हुन आउँछ । सटही हुने भए सफा गरेर टल्काउने योजनामा समिति छ । तर सटही हुने नहुने अनिश्चय भएकाले बोरामा हालेर गोदाममा सुरक्षित गरिएको काफ्ले बताउँछन् ।नेपाली सिक्का एक रुपैयाँको चार र दुई रुपैयाँको पाँच ग्राम तौल हुन्छ । चार किलोको एक हजार रुपैयाँ हुन्छ । यही आधारले भए ३५ क्विन्टलको करिब नौ लाख भारतीय रुपैयाँ हुन्छ । त्यसको नेपाली १४ लाख रुपैयाँको हाराहारीमा हुन आउँछ । एकमुष्ट सटहीको उपाय खोजेको काफ्ले बताउँछन् । तर राष्ट्र बैंकले भने सिक्का सटही नहुने जनाएको छ । नेपाल राष्ट्र बैंक कोशी प्रदेशका उपनिर्देशक लक्ष्मीप्रसाद तिमल्सिना एक देशको सिक्का अर्को देशमा सटही नहुने बताउँछन् । ‘आफ्नै देशको पनि सिक्का बैंकबाट गएपछि फिर्ता नहोस् भन्ने हुन्छ,’ तिमल्सिनाले भने, ‘अर्को देशको सिक्काचाहिँ सटही हुँदैन ।’पैसा खेर जान नदिन समितिले अरु नै विकल्प खोज्नुपर्ने सुझाव राष्ट्र बैंकका कर्मचारीको छ । समितिसँग भारतीय रुपैयाँका नोट पनि १९ लाख ६४ हजार रुपैयाँ छ । एक रुपैयाँदेखि हजार रुपैयाँसम्मका नोट पनि सटही गर्न बाँकी रहेको समितिले जनाएको छ ।नोट सटही हुने भए पनि अधिकांशमा रङ लागेकाले सटही नहोला कि भन्ने चिन्तामा समिति छ । नोट र सिक्का दुवै सटहीका लागि प्रयास गरेको काफ्ले बताउँछन् । समितिलाई यसअघि नेपाली सिक्का सटहीमा पनि यस्तै समस्या भएको थियो । अहिले भने सिक्का सफा गर्ने मेसिन ल्याएको समितिले टल्काएर बैंक र खरिद गर्न आउनेलाई पनि नोट पैसामा बिक्री गर्ने गरेको छ । नेपाली सिक्का सटहीमा अब समस्या नरहेको काफ्ले बताउँछन् ।नेपाल राष्ट्र बैंकले नलिए सफा बनाएर भारतदेखि आउने तीर्थयात्रीलाई नै नोटसँग खरिद गरिदिन अनुरोध गर्नुपर्ने अवस्था आउन सक्ने पाथीभरा समितिका सदस्य बताउँछन् । ‘यत्रो पैसा त्यसै फाल्ने कुरो त भएन, बैंकबाट सोलुसन निस्किएन भने अरु विकल्प खोज्नुपर्छ भन्नेमा पनि छौं,’ क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेले भने ।गत आर्थिक वर्षको असार मसान्तसम्म पाथीभरामा ४७ देशको पैसा भेटिएको थियो । नेपालपछि सबैभन्दा बढी पैसा भारतको छ । पाथीभरा मन्दिरमा आर्थिक वर्ष २०७९/८० मा ३ करोड १९ लाख १६ हजार रुपैयाँ भेटीबापतको रकम संकलन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्