झापा, असोज १४ ।सभामुख देवराज घिमिरेले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई झापाका विभिन्न भूमि समस्या समाधान गर्न आग्रह गरेका छन् ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठसंगको भेटमा उनले झापाका अव्यवस्थित बसोबासीहरुलाई आवश्यक नीति बनाई धनीपुर्जा दिन सक्ने गरी मन्त्रालयको तर्फबाट आवश्यक कदम चाल्न आग्रह गरेका हुन् ।

बिर्तामोड नगरपालिका वडा नं ८ स्थित गरामुनी बजारमा विगत ६२ वर्षदेखि बसोबास गर्दै आएका २८ घरधुरीको धनीपुर्जा प्राप्त भएपनि हालसम्म मोठ कायम नभएको हुनाले नापी विभाग भूमि व्यवस्था विभागसंग आवश्यक छलफल गरी मन्त्रालय स्तरबाट गर्न सक्ने भए गर्ने नत्र मन्त्रिपरिषदमा विषय लगेर भएपनि तत्काल समस्या समाधान गर्न, अर्जुनधारा तथा कन्काई नगरपालिकाभित्र २०२१ सालको नापीमा खोला भएको ठाउँमा बस्ती बसेको र खोलाचाहिँ निजी जग्गाबाट कुदेको हुनाले ती अव्यवस्थित बसोबासीलाई धनीपुर्जा दिन नसकिएको हुनाले त्यसलाई आवश्यक नीति बनाई धनीपुर्जा दिन सक्ने गरी मन्त्रालयको तर्फबाट आवश्यक कदम चाल्न र अर्जुनधारा नगरपालिका वडा नं १ को खारभित्ता क्षेत्रमा ३०० भन्दा बढी घरधुरीहरु बसोबास गर्दै आएको क्षेत्रमा नेपाली सेनाको तालिम केन्द्रको क्षेत्रसमेत भएको र नेपाली सेनाले उक्त क्षेत्र खाली गर्न पत्राचार समेत गरेको तर, उक्त क्षेत्रमा विगत ६० वर्षदेखि बसोबास गरिरहेका घरधुरीहरुले छोड्न सक्ने अवस्था नरहेको हुँदा त्यसको समाधानका लागि रक्षा मन्त्रालयसँग समेत समन्वय गरी भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले आवश्यक कदम चाल्न उनले ध्यानाकर्षण गराएका हुन् ।

साथै देशैभरिका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा दिँदा तिर्नुपर्ने राजस्व घटाउनका लागि मन्त्रालयले आवश्यक तयारी गरिसकेको हुनाले चाँडै नै मन्त्रिपरिषदमा लैजान , वन ऐन र भूमिसम्बन्धी ऐनबीच बाझिएका बिषयलाई समाधान गर्न र सच्याउन वन मन्त्रालय तथा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयबीच आवश्यक समन्वय गरी ऐन संशोधनको पहल गर्न उनको आग्रह थियो ।

सभामुखले तीन वर्षदेखि रेलवे परियोजनाका नाममा जग्गा रोक्का गरेका जग्गाधनीको समस्या समाधान गर्न भौतिक पूर्वाधार मन्त्रालयसँगको समन्वयमा आवश्यक गृहकार्य गर्नसमेत मन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए ।सभामुख घिमिरेले उठाएका धेरै विषयमा मन्त्री श्रेष्ठले समस्या समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्