भद्रपुर, असोज १६ । दक्षिणी झापाको कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकामा व्यावसायिक रूपमा किसानले लगाएको केरा खेतीमा ठूलो क्षति पुगेको छ ।

कचनकवलमा करिब १५ हेक्टर क्षेत्रफलमा लगाइएको केरा खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यस्तै भद्रपुरमा ९ हजार केराको बोटमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले बताए ।

कचनकवल गाउँपालिकाका कृषि शाखा प्रमुख संगम सापकोटाका अनुसार २३ किसानले लगाएको केरा खेतीमा ५० देखि ६० प्रतिशत केराका बोटहरु हावाहुरीका कारण नष्ट भएको स्थलगत रिपोर्टबाट देखिएको छ । उनले आउँदै गरेको चाडवाडलाई लक्षित गरेर किसानले लगाएको केरा पूर्णरुपले क्षति भएको बताए ।

कचनकवल गाउँपालिका वडा नं. ४ का मनोजकुमार गणेशले आफ्नो बगानमा लगाइएको १५ सय केराका बोटहरुबाट आम्दानी हुने बेलामा नोक्सानी पुगेको बताए । उनीजस्तै सत्यनारायण गणेश, धर्मेन्द्र यादव, जितलाल गणेश र सतलाल गणेशलगायत २३ किसान परिवारले सहकारी तथा बैङ्कको ऋणमा लगाएको केरामा क्षति भएको छ ।

अहिलेको अवस्थामा उनीहरुको लागत खर्चमात्रै दुई सय पचास रुपैयाँ पुगिसकेको छ भने प्रति केराको घरि ४०० देखि ५०० रुपैयाँसम्म बिक्री हुँदै आएको उनीहरु बताउँछन । किसानहरुका अनुसार हावाहुरीबाट करिब ४० लाखको नोक्सानी भएको छ । उनीहरुले स्थानीय सरकार तथा केन्द्र सरकारबाट राहतको अपेक्षा गरेका छन्। कृषकहरुलाई कृषि बिमासम्बन्धी जानकारी नहुँदा ठुलो नोक्सानी ब्यहोर्नु परेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्