झापा,असोज १६ । साम्प्रदायिक र धार्मिक हिंसा भड्काउन खोजेको आरोपमा प्रहरीले सुनसरी चक्रघट्टीमा बस्दै आएका श्री निवास आचार्यलाई नियन्त्रणमा लिएको छ ।

उनले केही दिन अगाडि गौहत्या गर्नेहरुलाई हत्या गर्न आव्हान गर्दै चर्को भाषण गरेका थिए । गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनको अभिव्यक्ति थियो । उनले हातमा खुकुरी बोकेर भनेका थिए, ‘गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।’ आचार्यको उक्त अभिव्यक्ति सामाजिक संजालमा भाइरल भएको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले प्रहरी श्रीनिवासलाई प्रहरी कार्यालयमा उपस्थित गराउन नियन्त्रणमा लिइएको बताए । यसअघि आचार्य आफैँलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए । २०७४ चैत २५ गते उनलाई गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैँले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्य पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्