शनिश्चरे, असोज १६ । झापाको अर्जुनधारा नगरपालिका ८ नम्बर वडा कार्यालयले विद्युतीय चुल्हो (इन्डक्सन) वडाबासीलाई वितरण गरेको छ ।

दसैँको मुखमा इन्डक्सन चुल्हो वडा कार्यालयले वितरण गरेपछि वडाबासी हर्षित छन् । नगरपालिकाले उपलब्ध गराएको २९ वटा र वडा कार्यालयकै बजेटबाट खरिद गरिएका १७ थान इन्डक्सन चुल्हो वितरण गरिएको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले वडालाई उपलब्ध गराएको २९ थान र वडा कार्यालयले खरिद गरेको १७ थान इन्डक्सन चुल्हो वितरण गरिएको हो ।

वडा कार्यालयले इन्डक्सन चुल्हो वितरणका लागि माग निवेदन आह्वान गरेको थियो । सोही माग निवेदनअनुसार नै कसैलाई नछुटाइ इन्डक्सन चुल्हो वितरण गरिएको हो । १७ जनाको बढी संख्या माग निवेदन परेकाले वडाले खरिद गरेको उनको भनाइ छ । वडाबाट यसअघि कुनै किसिमको अनुदान नपाएका व्यक्तिलाई चुल्हो उपलब्ध गराइएको वडाध्यक्ष उप्रेतीले सुनाए ।

यसैबीच, वडाबाट पाएको अनुदानको चुल्हो बिक्री गरेको पाइएमा त्यस्ता व्यक्तिलाई वडाले अन्य कुनै पनि सुविधा नदिने भएको छ । चुल्हो पाउने वडाबासीले लागत सहभागितावापत ५ सय रुपैयाँ बुझाएका छन् । वडाबासीलाई एकैपटक वितरण नगरिए पनि माग र आवश्यकताअनुसार वडा कार्यालयले फेरि इन्डक्सन चुल्हो वितरण गर्ने वडाध्यक्ष उप्रेतीले बताए । वडा सदस्यहरू ऋषिप्रसाद घिमिरे, जानुका रसाइली, सरू बढाथोकी र मनोज रैका थापामगरले इन्डक्सन चुल्हो वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्