झापा, असोज १७ । दार्जिलिङकी वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ ।
मंगलबार राति ८४ वर्षको उमेरमा दार्जिलिङमा उनको निधन भएको हो । उनी लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित थिइन् । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी उनी गोपाल योञ्जन, कर्म योञ्जन,रञ्जित गजमेर, शान्ति ठटाल, अरुणा लामाकी समकालीन हुन् ।
‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ सन् १९७२ मा स्वरसम्राट नारायण गोपालसँग कोलकाता पुगेर रेकर्ड गरेकी थिइन् । सन् १९६२ मा पहिलो पटक काठमाडौं आएकी थिइन् । त्यहीबेला शिवशंकर, नातिकाजी श्रेष्ठ, तारादेवीजस्ता दिग्गज स्रष्टाहरूसँग उनको चिनापरिचय भएको थियो । काठमाडौं घुम्न आएकी उनले रेडियो नेपालमा ६ महिना अल्झिनुप¥यो । यसबीचमा उनका थुप्रै गीत लाइभ रेकर्ड गरिए । दिलमाया भने छिट्टै फुत्किएर दार्जिलिङ फर्किन चाहन्थिन् तर, उनको प्रतिभाबाट कायल भएका नातिकाजीलगायतका दिग्गज संगीतकर्मी उनलाई यतै राख्न चाहन्थे ।
रेडियो नेपालबाट गोल्ड मेडल पाएकी दिलमायालाई रेडियोले उम्किनै दिएन । तर, उनी आमा बिरामी भएको बहाना बनाएर दार्जिलिङ फर्किएकी थिइन् ।
२०७१ सालमा नारायण गोपाल संगीत कोषले प्रदान गरेको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार ग्रहण गर्न उनी दोस्रो पटक काठमाडौ आएकी थिइन् । दार्जिलिङका धेरै स्रष्टालाई काठमाडौंले तानिरहेको थियो । तर, दिलमायाको दिल काठमाडौंले कहिल्यै जित्न सकेन । उनी दार्जिलिङ फर्किएर शिक्षणसँगै संगीतकर्ममा रमाइरहिन् ।
नारायण गोपालसँग भने दिलमायाको भेट सन् १९७२ ताका दार्जिलिङमै भएको थियो ।