झापा, असोज १७ । उत्तर सिक्किमको ल्होनाक ताल विस्फोटपछि बुधबार बिहान साढे १ बजे टिस्टा नदीमा आएको बाढीका कारण सिक्किममा ८जनाको मृत्यु भएको छ ।

भारतीय सेनाका २३ सेना र २६ सर्वसाधारण बेपत्ता छन् । बेपत्ता को खोजी तीव्र पारिएको सिक्किम सरकारले जनाएको छ । सिक्किम सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बाढीले सिङ्तामनजिकै बर्दाङमा पार्किङ गरी राखिएको सेनाको ट्रक र त्यसमा सवार २३ जना सैनिक बेपत्ता भएका छन् । अन्य ४१ वटा सवारीसाधनसमेत बाढीले बगाएको छ ।

बाढीबाट घरमै थुनिएका र फसेकाहरूको उद्धार तीव्र पारिएको छ । उद्धारमा सिक्किम प्रहरी र भारतीय सेनासहित आधा दर्जन निकाय खटिएका छन् । बुधबार ८० जनाभन्दा बढी सर्वसाधारणलाई उद्धार गरिएको छ । बाढीका कारण भएको क्षतिको सरकारले आकलन गर्न सकेको छैन । उत्तर क्षेत्र लाचेन उपत्यकामा मात्रै बाढीले करोडौँको भौतिक क्षतिसँगै मानवीय क्षति गरेको अनुमान सरकारको छ ।

बाढीका कारण सडक सञ्जाल, सञ्चार, खानेपानीलगायतका पूर्वाधारमा क्षति पुगेको छ । सयौं घर बाढीमा डुबेका छन् । सिक्किमको मंगान, गान्तोक, पाक्योङ र नाम्ची जिल्लाका दर्जनभन्दा बढी पुल र बाँध बाढीले बगाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्