शनिश्चरे, असोज १८ । झापाको अर्जुनधारामा प्रथम मेयर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । बाह्रघरे डोजोको आयोजनामा अर्जुनधारा ९ स्थित आधारभूत विद्यालयको खेलमैदानमा आगामी कात्तिक १८ र १९ गते प्रतियोगिता हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्लबका अध्यक्ष नारदमणि नेपालका अनुसार डोजोको आफ्नै कभर्ड हल निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नेपाल कराते महासंघ झापाको प्राविधिक सहयोग रहने प्रतियोगितामा लागूऔषधविरुद्ध युवाहरुलाई जागरुक बनाउन र दुर्व्यसनमुक्त समाज निर्माणका लागि आयोजना गरिएको समाजका सल्लाहकार मोहन पौडेलीले बताए । डोजोका प्रमुख प्रशिक्षक हेमलाल परियारका अनुसार तीन देशका करिब ५ सय जना खेलाडीले सहभागिता जनाउने छन् । आयोजक डोजोसँगै झापा, इलाम, सुनसरी र मोरङका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुषतर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६०ं तथा महिलातर्फ २५, ३०, ३५, ४०, ४२, ४७, ५२, ५७, ६०, र ६०ं तौल समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित चार लाख ४० हजार रुपैयाँ खर्च लाग्ने बताइएको छ । अर्जुनधारा नगरपालिका, वडा कार्यालय, विभिन्न संघसंस्था तथा सहयोगी दाता महानुभावहरुसँग आवश्यक खर्चका लागि समन्वय गरिने डोजोका प्रशिक्षक परियारले बताए । अर्जुनधारा ८ का वडाध्यक्ष तथा एसियन कराते रेफ्री कुमारप्रसाद उप्रेतीले डोजोको लक्ष्य प्राप्तिका लागि सहभागीमुलक योजना अघि सार्न आग्रह गरे । उनले कुनै एक खेलका लागि मात्र नभएर समुदायले नै उपभोग गर्न मिल्ने सामुदायिक भवनको अवधारणा लिनसके डोजोले सफलता पाउने विचार राखे ।

यस्तै, अर्जुनधारा ९ का वडाध्यक्ष भीष्म मिश्रले प्रतियोगिता मेयर कप भएकाले नगरपालिकाले बजेट विनियोजन गरिनु पर्नेमा जोड दिए । उनले आफ्नो वडाले पनि आर्थिक सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन् । पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाईं, महासंघ झापाका अध्यक्ष जगन कार्कीलगायतले प्रतियोगिता सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्