झापा,असोज १९। विराटनगरमा नाम चलेका सामुदायिक विद्यालय हुन् पोखरिया, आदर्श, सत्यनारायण, गोग्राहा । शिक्षण सिकाइमा अब्बल र नतिजामा उत्कृष्ट भएपछि यी विद्यालय विराटनगरभरि नाम चलेकोमा पर्छन् । राष्ट्रियस्तरमा समेत यी विद्यालयको स्तर गणना सन्तोषजनकमै पर्छ तर सहरभरि नाम चलेका सामुदायिक विद्यालयका शौचालय भने परिसरमा गन्ध फैलाउने किसिमका छन् । विद्यार्थीले प्रयोग गर्ने शौचालय फोहोर र दुर्गन्धयुक्त छन् । विद्यालय व्यवस्थापनमा प्रशासन र व्यवस्थापन समिति रहने गरेको छ । स्थानीय तह मातहत आएपछि विद्यालय सुधारका योजना पनि उत्तिकै छन् । तर पनि विद्यालयपरिसरमा शिक्षकले प्रयोग गर्ने शौचालय र विद्यार्थीले प्रयोग गर्ने शौचालयको सरसफाइमा भने फरकपन देखिने गरेको छ । सरकारी विद्यालयका शौचालय फोहोर र दुर्गन्धयुक्त हुँदा त्यसको असर विद्यार्थीमा देखिने जोखिम उच्च छ । त्यसमाथि विभिन्न सुर्तीजन्य वस्तुका खोल र महिला शौचालयमा प्याडसमेत फालिएको हुन्छ । विद्यालयमा छात्राले प्रयोग गर्ने प्याड व्यवस्थापन गर्ने र फेर्ने कक्षको समेत सुविधा छैन । फोहोर र दुर्गन्धयुक्त शौचालयमा प्याड फेर्दा उनीहरूको स्वास्थ्य जोखिमबारेको आकलन कमजोर देखिन्छ । पढाइमा उत्कृष्ट विद्यालयको नाम कमाए पनि विद्यालयको शौचालयमा भने एक मिनेटसम्म पनि उभिन सक्ने स्थिति छैन । विद्यालयका प्राचार्यहरूले भने जति नै सरसफाइमा ध्यान दिँदासमेत कहिल्यै सफा राख्न नसकेको उल्टै गुनासो गरेका छन् । विराटनगरको आदर्श र पोखरिया विद्यालयको शौचालय त झन् पसिसक्नु छैन । छात्र र छात्राले प्रयोग गर्ने शौचालयमा सुर्तीजन्य वस्तु खाएर खोलहरू छरिएका छन् । शौचालयमा हात धुने पानी, साबुनको समेत सुविधा नभएको विद्यार्थी बताउँछन् । पोखरिया र आदर्शको तुलनामा सत्यनारायण माध्यमिक विद्यालयको शौचालय भने सरसफाइमा सुधार देखिएको छ । विराटनगरकै उत्कृष्टमा पर्दै आएको पोखरियामा छात्राका लागि चेन्जिङ रुम व्यवस्थित छैन । प्याड शौचालयमै फालिने गरिएको छ । पोखरियाका सहायक प्रधानाध्यापक महेशकुमार गौतमले शौचालयमा कसरी सुर्तीजन्य वस्तु पुग्छ भन्ने जानकारी नै नहुने गरेको बताउनुभयो । उहाँले तीन हजार छ सय विद्यार्थी रहेको विद्यालयमा शौचालय अभाव हुँदा सरसफाइमा समेत कतिपय कमजोरी देखिएको दाबी गर्नुभयो । यद्यपि क्रमश सुधारोन्मुख गर्दै लैजाने योजना राखिएको गौतमको दाबी छ । आदर्शको शौचालयमा झ्यालको पल्ला छैन । बाहिरबाट समेत पातपतिङ्गर भित्र पस्ने गर्दा फोहोरको डङ्गुर लाग्ने गरेको छ । यहाँ प्याड बक्स छ तर यहाँसमेत फोहोरले भरिएको देखिन्छ । महानगरपालिकामा नाम चलेका विद्यालयका आधारमा सत्यनारायण माविको शौचालय सफा देखिन्छ । दैनिक तीन पटकसम्म सरसफाइ गर्ने गरिएको प्राचार्य पुरुषोत्तम गुरागाईंले जानकारी दिनुभयो । यद्यपि शौचालय सरसफाइलाई अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । शैक्षिक गुणस्तरमा फड्को मार्दै गरेका सरकारी विद्यालयका संरचना पुराना छन् । पुराना संरचनामा बनेका शौचालय व्यवस्थित देखिँदैनन् । संरचनाभित्रको पुनर्संरचना र मर्मत गर्न बजेट अभाव हुँदा यथास्थितिमा चलिरहकै छ भन्ने जस्तो सोच विद्यालय प्रशासनको देखिन्छ । विद्यालय घरपछिको सभ्यता निर्माण गर्ने शैक्षिक केन्द्र भएकाले ज्ञान र व्यवहार परिवर्तनमा शिक्षक र विद्यार्थीको भूमिका उत्तिकै हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्