मानेभञ्ज्याङ , असोज २० । सातौ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा सिलोङ लाजोङ एफसी र टेरिटोरियल आर्मी दार्जिलिङ बिजयी भएका छन् ।

शनिबार सम्पन्न खेलमा सिलोङले घरेलु टोली मानेभञ्ज्याङ एफसी तथा आर्मीले रोलिङ क्लब धुलाबारी झापालाई हराएको हो । पहिलो खेलमा सिलोङले २–१ गोल अन्तरले जित निकालेको थियो । खेलको सुरुवाती अग्रता सिलोङले लिएको थियो । १५ औ मिनेटमा सानोले सिलोङलाई अग्रता दिलाए ।

२३ औ मिनेटमा वादाजितले अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० ले पछि परेको मानेभञ्ज्याङका लागि कप्तान टाक्सिक भुटियाले ६० औ मिनेटमा १ गोल फर्काए । त्यसैगरी दोस्रो खेलमा आर्मीले रोलिङ माथि ३–० को जित निकाल्न सफल रह्यो । रोलिङ ३ जना नेपाली यु–१९ राष्ट्रिय टिमको सदस्यसहित मैदान उत्रिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको गोल दोस्रो हाफमा निस्किएको थियो ।
४८ औ मिनेटमा लाक्पा तामाङले सुरुवाती गोल गरेका थिए । ५४ औ मिनेटमा लाक्पाले व्यक्तिगत गोल संख्या दोब्बर बनाए । ६५ औ मिनेटमा एस केपगेनले गोल गरेपछि ३–० गोल अन्तरका जितका साथ आर्मीले अन्तिम ८ मा स्थान बनाए । प्रतियोगिताको आइतबारबाट क्वाटरफाइनलको खेलहरु सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा बिएसके जलपाइगुडी र दलसिंहपाडा स्पोर्टस एकाडेमी डुवर्स तथा दोस्रो क्वाटरफाइनल खेलमा चाँद एफसी तीनधारिया र जर्जियन एफसी कालेम्पोङ भिडनेछन् ।

जलपाइगुडीले पानबारी एफसी धरानलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो । दलसिंहपाडाले सिङलिङ स्पोर्टिङ क्लब सोरेङ सिक्किमलाई हराएको हो । त्यसैगरी चाँदले रेडहर्स इलाम तथा जर्जियनले डिएसए हावडालाई हराएको थियो ।

प्रतियोगितामा नेपालका ५ र भारतका ११ क्लबको सहभागिता छ । प्रतियोगिताको बिजेताले ८ लाख रुपैया (५ लाख भारु) तथा उपविजेताले ४ लाख (२ लाख ५० हजार भारु) पाउने छन् । फाइनल खेल अक्टोबर १५ तारिकमा हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्