बिर्तामोड , असोज २० । झापाको ‘ए’ डिभिजन क्लब बिर्तामोड ७ स्थित न्यूस्टार क्लबले आगामी मंसिरको दोस्रो साता झापा जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गत बैशाख ३० देखि जेठ ६ गतेसम्म न्यूस्टार अन्तर्राष्ट्रिय गोल्डकप संचालन गरेको क्लबले वार्षिक कार्यक्रमअनुसार जिल्लास्तरीय प्रतियोगिता गराउन लागेको क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूले बताए । उनले सो प्रतियोगिताको विजेता र उपविजेताका लागि क्रमशः ५१ हजार र ३१ हजार नगद पुरस्कारको व्यवस्था गरिने जानकारी दिए । वार्षिक रुपमा जिल्लास्तरीय प्रतियोगितासंगै क्लबले प्रत्येक दुई–दुई वर्षमा अन्तर्राष्ट्रिय गोल्डकप गर्ने योजना बनाएको शनिवार सुन्दर निचाझोडा खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिम्बूले बताए ।

पत्रकार सम्मेलनमा गत बैशाखमा आयोजित प्रथम अन्तर्राष्ट्रिय गोल्डकपको हरहिसाब सार्वजनिक गरिएको थियो । क्लबका सचिव सरोज न्यौपानेले आय व्यय प्रस्तुत गर्दै जम्मा १६ लाख ८० हजार ८०१ रुपैयाँ संकलन भएकोमा १५ लाख ३४ हजार ५५६ रुपैयाँ खर्च भएको बताए । उनले मौज्दात रकम १ लाख ४६ हजार २४५ रुपैयाँ रहेकोमा १ लाख ६८ हजार ३४७ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जानकारी दिए । आर्थिक मसान्तका कारण सहयोगीहरुबाट आर्थिक संकलन गर्न ढिलो भएका कारण प्रतियोगिताको आय व्यय सार्वजनिकीकरण कार्यक्रममा पनि विलम्व भएको सचिव न्यौपानेले बताए ।

कार्यक्रममा वडा खेलकुद विकास समितिका तर्फबाट १ लाख १० हजार मूल्य बराबरको खेलकुद सामग्री क्लबलाई प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले खेलकुद सामग्री प्रदान गर्दै वर्षौदेखि ओझेलमा परेको न्यूस्टार क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगिताले सास जोगाउने काम गरेको बताए । उनले क्लबको हरेक गतिविधिमा वडा कार्यालयको साथ रहने भन्दै क्लबलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

क्लबका अध्यक्ष लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा वडा खेलकुद विकास समितिका अध्यक्ष नरेश संग्रौलाले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सचिव न्यौपानेले गरेका थिए । उदीयमान न्यूस्टार क्लबले झापा लिगको तयारी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्