एजेन्सी । इजरायल र हमासबीच गाजापट्टी क्षेत्रमा भएको गोलाबारीमा २ करिव ५ सय जनाको ज्यान गएको छ ।

दुवैतर्फको भीडन्तमा कम्तीमा २५० इजरायली र २३० भन्दा बढी गाजाका बासिन्दा मारिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आक्रमणमा परी एक हजारभन्दा बढी इजरायली नागरिक घाइते भएका छन् । प्यालेस्टाइनी लडाकू समूह हमासले हिजोदेखि इजरायलमा हवाई, समुद्री र स्थल आक्रमण थालेको हो । हमास र इजरायली सैनिकबीच २२ ठाउँमा भीडन्त भइरहेको जनाइएको छ । दुई ठाउँमा हमास विद्रोहीहरुले इजरायलीलाई बन्धक बनाएको बताइएको छ ।

यसैबीच इजरायलले गाजा क्षेत्रका बासिन्दाहरुलाई घर छोड्न चेतावनी दिएको छ । प्रतिकारमा आक्रमण गर्नुभन्दा अगाडि इजरायलले त्यस्तो चेतावनी दिएको हो ।

अमेरिका, भारत, ईयूलगायत विश्व समुदायबाट यो आक्रमणको निन्दा गरिएको छ । ह्वाइट हाउसले विज्ञप्ति निकालेर घटनाको कडा एवं स्पष्ट शब्दमा निन्दा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकू समूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन् ।

युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले सर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै निन्दा गरेका छन् । आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतका देशले पनि चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ ।

विश्व समुदायले युद्ध अन्त्य र स्थायी शान्ति कायम गर्न दुवै पक्षसँग आह्वान पनि गरेका छन् । इरानले भने हमास समूहले इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्