झापा, असोज २१ । झापा जलथलकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इण्डियन आइडलमा मर्मस्पर्शी प्रस्तुति दिएकी छन् ।

उनको प्रस्तुतिले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरेन, ‘गोल्डेन माइक’ समेत जित्यो । अडिसन राउण्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी मेनुकाको गायकीमा तीनै जज भक्कानिए । उनीहरु ‘शब्दविहीन’ रहे । त्यसपछि उभिएर सम्मान प्रदान गरे । जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु बगाउँदै आफूलाई सम्हाल्न सकेनन् । त्यसपछि जज ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गायकीको प्रशंसा गरे ।

उनले भने, ‘हामी संगीतकर्मी जुन चिजलाई पुज्छौं नि, त्यसलाई अघि देखिरहेका छौं । म जुन चिजलाई पुज्छु, त्यो तिमी आफैं हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको अर्थ हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ।’

अर्का जज कुमार सानुले भने, ‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि मैले जुन संगीत बनाउँछु, त्यो भिन्न हुनेछ । यसको कारण तिमी हौ ।’

श्रेया घोषालले पनि मेनुकाको प्रशंसामा शब्द खर्चिइन् । मेनुकाको गायकीले आफूभित्रको संगीत जागेको भन्दै स्पष्टता प्रदान गरेको बताइन् । ‘तिमी को हौ, तिमी आफैंलाई थाहा छैन मेनुका, यसकारण मलाई मजा आयो । मलाई लाग्दैन कि इण्डियन आइडलमा अरु कसैले यति राम्रोसँग गाएको छ ।’

तीनै जजले मञ्चमा उक्लिएर मेनुकालाई गोल्डेन माइक प्रदान गरे । झापाको जलथलमा जन्मिएकी दुर्गा मावि गरामनीकी पूर्व विद्यार्थी मेनुकाले यसअघि नेपाल आइडलमा भाग लिएकी थिइन् । साथै अर्को भारतीय रियालिटी शो ‘सारेगमप’मा पनि सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्